Logo

इलाम–२ मा रास्वपाका उमेदवार मिलनको जमानत जफत



इलाम, १८ वैशाख । इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जमानत जफत भएको छ । रास्वपाका उमेदवार मिलन लिम्बूले जमानत जोगाउन समेत सक्नु भएन । उहाले चौथो स्थानमा रहँदै पाँच हजार ५० मत ल्याउनुभयो ।

निर्वाचनमा जमानत जोगाउन कुल सदर मतको १० प्रतिशत मत ल्याउनु पर्छ । इलाम–२ मा ६८ हजार ४७२ मत सदर भएको थियो । ६९ हजार ३७४ मत खसेकोमा ९०२ मत बदर भएको जिल्ला निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।

इलाम–२ मा आफ्ना उमेदवारलाई जिताउन रास्वपाका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेलगायत पार्टीका शीर्ष नेता इलाम पुगेका थिए । तर उहाहरुले दाबी गरेजस्तो परिणाम इलाम–२ मा देखिएन ।

इलाम–२ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित हुनु भयो । नेपाली कांग्रेसका उमेदवार डम्बर खड्कालाई पराजित गर्दै उहा प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको हो ।

नेम्वाङले निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्कालाई पाँच हजार ८३० मतान्तरले पराजित गर्नुभएको हो । विजयी नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गर्नुभयो । दोस्रो स्थानमा रहेका खड्काले २१ हजार ९४२ मत प्राप्त गर्नुभयो ।

तेस्रोमा पहिचानवादी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाउनुभयो।

२०८० भदौ २६ गते एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि यो क्षेत्रमा वैशाख १५ मा उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस्