Logo

मन्त्री थप्ने तयारीमा प्रधानमन्त्री



फाइल तस्बिर

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिक उन्मुक्ति पार्टी र नयाँ दल जसपाबाट मन्त्री थप्ने तयारी थाल्नुभएको छ । सत्ता गठबन्धन भत्काउने प्रयास भइरहेको भन्दै प्रधानमन्त्री दाहाल र सत्तारूढ एमाले अध्यक्ष केपी शर्मा ओली संविधानले दिएको २५ सदस्यीय सीमाभित्र रहेर मन्त्रिपरिषद् विस्तार गरी गठबन्धन बलियो बनाउने निष्कर्षमा पुग्नुभएको  हो । हाल प्रधानमन्त्री, मन्त्रीसहित २३ सदस्यीय मन्त्रिपरिषद् छ ।

मन्त्री थप गर्नेबारे सत्ता समीकरणको बैठक बसेर टुंगोमा पुग्ने दाहालनिकट नेताको भनाइ छ । ‘जसपा नेपाल अध्यक्ष उपेन्द्र यादवले नयाँ समीकरण बनाउन लागेको पुष्टि भइसकेको छ, जसका कारण जसपा विभाजन भएर नयाँ पार्टी बनेको छ,’ बालुवाटार स्रोतले भन्यो, ‘उपेन्द्रजीसामु यो समीकरणमा रहने वा नरहनेबारे नैतिक प्रश्न उठेको छ । त्यसैले नयाँ परिस्थितिअनुसार बाहिर रहेका र नयाँ पार्टीलाई समेट्नुपर्ने आवश्यकता छ ।’

नयाँ जसपालाई विश्वासमा लिन र उन्मुक्तिलाई सरकारमा सहभागी गराई समीकरण बलियो बनाउन प्रधानमन्त्री दाहाल गठबन्धन दलसँग परामर्शमा रहेको प्रधानमन्त्रीनिकट स्रोतको भनाइ छ । तर जसपा नेपाल अध्यक्ष यादवले बुधबार पत्रकार सम्मेलन गरी नयाँ समीकरण बनाउन लागेको चर्चा कपोलकल्पित भएको दाबी गर्नुभयो । ‘प्रधानमन्त्रीजीलाई पनि हौवा फैलाइयो । फलानो फलानो मन्त्री बन्दै छ, अमेरिकाबाटै सरकार पुनर्गठन गरेर आउँदै छ भन्ने भ्रममा प्रधानमन्त्रीजीलाई पनि पारेको भन्ने कुरा बुझियो,’ यादवले भन्नुभयो, ‘जसपाले सरकार ढालेर अर्को सरकार बनाउँदै छ भन्ने कपोलकल्पित हल्लाहरूलाई सरकारमा रहेका केही साथीहरूले पत्याउनुभयो । यति हुँदाहुँदै पनि सरकारलाई दिएको समर्थन निरन्तर रहनेछ । हाम्रो कारणले अस्थिरता आउँदैन ।’

नवगठित जसपा संघीय परिषद्का अध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्नो दलका तर्फबाट नवलकिशोर साह सुडी वन तथा वातावरणमन्त्री रहेको र आफूहरू अझै समीकरण बलियो बनाउने पक्षमा रहेको बताउनुभयो । ‘भर्खरै हाम्रो पार्टी गठन भएको छ । हामीसँग पहिले नै एक मन्त्रालय छ,’ उहाले भन्नुभयो, ‘थप मन्त्रालय के गर्ने भन्ने प्रधानमन्त्रीको विशेषाधिकारको कुरा हो ।’ उहाले सत्ता समीकरणको बैठकमा मन्त्रिपरिषद् हेरफेरबारे छलफल हुने बताउनुभयो । ‘हामीले राजनीतिक स्थिरताका लागि नयाँ पार्टी बनाएका हौं, दायाँबायाँ हुँदैन,’ उहाले भन्नुभयो, ‘अरू सत्ता समीकरणको बैठकले निर्णय गर्नेछ ।’ यादव अमेरिका भ्रमणमा रहेका बेला अशोक राईको अध्यक्षतामा जनता समाजवादी बनेको थियो ।

जसपा संस्थापन ५ सांसदमा सीमित भएपछि वर्तमान सत्ता समीकरणलाई समर्थन गर्नु बाध्यात्मक अवस्था बनेको छ । संघ र मधेस सरकारलाई ध्यानमा राखी तत्कालन समीकरण नछाड्ने निष्कर्षमा यादव पुग्नुभएको छ  । यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री हुनुन्छ । वन तथा वातावरण राज्यमन्त्री दीपक कार्की यादवकै पार्टीका हुनुन्छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले समीकरणमा सकेसम्म धेरै दललाई समेटेर जानु उपयुक्त हुने बताउनुभयो । ‘सरकारमा सहभागी गराएर वा बारिहबाट पनि समेट्न सकिन्छ,’ उहाले भन्न्ुभयो, ‘दुवै जसपा सरकारमा छन् । समीकरणमै रहने बताएका छन् ।’ माओवादी सचिव देवेन्द्र पौडेलले सकेसम्म दुवै जसपालाई समेटेर समीकरण बलियो बनाउनुपर्ने बताउनुभयो । ‘मन्त्रिपरिषद् हेरफेर गर्दा मन्त्रालय व्यवस्थापन गर्ने मुख्य कुरा हो,’ उहाले भन्नुभयो।

नयाँ समीकरण बनाउन लागेको सुइँको पाएपछि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी ओलीसँगको परामर्शमा जसपा आइतबार विभाजन भएको थियो । नयाँ जसपाले निर्वाचन आयोगबाट मान्यता पाइसकेको छ । आयोगले जनता समाजवादी पार्टी ९जसपा० नामको दल दर्ताको जानकारी संसद् सचिवालयलाई पठाइसकेको छ । संसद् सचिवालयले आफ्नो वेबसाइट अद्यावधिक गर्दै नयाँ जसपाको ७ र पुरानो जसपा नेपालको ५ सिट भएको जनाएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री दाहाल ६ सिट भएको नागरिक उन्मुक्तिलाई बिनाविभागीय मन्त्री दिएर पनि संघीय सरकारमा सहभागी गराउने तयारीमा हुनुन्छ । उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो दलले सरकारलाई विश्वासको मत दिइसकेको उल्लेख गर्दै सरकारमा जान सकिने संकेत गर्नुभयो। ‘सरकारलाई समर्थन छ, केही दिनमा छलफल थप होला,’ उहाले भन्नुभयो । बालुवाटार स्रोतका अनुसार श्रेष्ठ आफू बिनाविभागीय मन्त्रीको रूपमा सरकारमा जान अनिच्छुक रहेको र त्यस्तो अवस्थामा अरूलाई नै मन्त्री बनाउने पक्षमा हुनुन्छ । संविधानअनुसार प्रधानमन्त्रीसहित २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन सकिने प्रावधान छ । हाल प्रधानमन्त्री, मन्त्रीसहित २३ सदस्यीय मन्त्रिपरिषद् छ, कान्तिपुरमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्