Logo

बिर्तामोड नगपालिकाद्वारा विद्यार्थीलाई पोसाक



बिर्तामोड, २ चैत । बिर्तामोड नगरपालिकाले कक्षा ५ सम्मका विद्यार्थीहरुलाई पोषाक वितरण गरेको छ ।

बुधबार नगरपालिका कार्यालयको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच नगरमा रहेका सामुदायिक तथा धार्मिक विद्यालयका प्रधानाध्यापकहरुलाई एक मुष्टरुपमा वालविकास देखि कक्षा ५ सम्मका विद्यार्थीहरुको विद्यालय पोषाक हस्तान्तरण गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले कतिपय अभिभावकले छोराछोरीको लागि विद्यालय पोषाक खरिद गर्न नसक्दा पठन पाठनबाटै बन्चित हुने गरेका कारण पोषाक वितरण कार्यक्रम ल्याएको बताएकी छन् ।

उनले यस कार्यक्रमले अभिभावकलाई सहज हुनका साथै विद्यार्थीहरुमा एकरुपता आउने र पठनपाठनमा समेत अनुकुल वातावरण बन्ने बताइन् ।

यस्तै नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले शिक्षा क्षेत्रको हरेक क्रियाकलापलाई जिम्मेवारी पूर्वक अगाडि बढाउनु पर्नेमा जोड दिए । उनले विद्यालयको शौचालय, सरसफाई लगायत भौतिक अवस्थाका बारेमा पनि ध्यान दिन प्रधानाध्यापकहरुलाई आग्रह गरेका छन् ।

यस्तै शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले पोषाक वितरणले विद्यार्थीको सिकाईमा सहजता ल्याउने बताए । उनले यस वर्ष पनि ३ हजार ६ सय भन्दा बढी विद्यार्थीलाई पोषाक वितरण हुने जानकारी दिए ।

बिर्तामोड नगरपालिकाले आफ्नो क्षेत्रभित्र सन्चालनमा रहेका १८ वटा सामुदायिक र २ वटा धार्मिक विद्यालयमा गत आर्थिक वर्षदेखि पोषाक वितरण गर्दै आएको छ ।

पोषाक हस्तान्तरण कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष किशोर पौडेल, नगर कार्यपालिका सदस्य यमुना आचार्य, तिला गौतम, निर्मला सुनुवार, शिक्षक महासंघ बिर्तामोड नगरकमिटी अध्यक्ष युवराज कट्टेल, सचिव उमा भण्डारी, पूर्व स्रोत व्यक्ति डम्बरबहादुर बस्नेत, शाखा अधिकृत दिनेश कुमार आचार्य, शिक्षा अधिकृत केशर खवास, जानुका रेग्मी, विद्यालयका प्रधानाध्यापक र विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो ।

सोही कार्यक्रमका बीच वडा नम्बर २ मा रहेको वीर अमरसिंह माविको तर्फबाट नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई सम्मान गरिएको छ ।

६५ औं वार्षिकत्सवको अवसरमा तयार पारिएको सम्मान पत्र वडा नम्बर २ का वडाध्यक्ष किशोर पौडेलले नगर प्रमुख प्रसाईलाई प्रदान गरेका थिए ।

नगर प्रमुख पदमा निर्वाचित भई समग्र बिर्तामोडको विकास र नगरवासीको हितमा निर्भिक, निर्विवादित, निष्पक्ष ढंगले कार्य गर्ने जिम्मेवारी प्राप्त गरेकोमा उनलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक यदुनाथ अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्