Logo

लान्छित अभिव्यक्ति फिर्ता लिन सभामुखलाई पत्रकार महासंघको चेतावनी



काठमाडौँ, ४ चैत । नेपाल पत्रकार महासंघले सभामुख देवराज घिमिरेले शुक्रवार व्यक्त धारणाप्रति आपत्ति प्रकट गरेको छ । महासंघका महासचिव रोसन पुरीद्वारा आज जारी गरिएको विज्ञप्तिमा सभामुखको आधारहीन अभिव्यक्ति तत्काल फिर्ता नभएमा कानुनी र दबाबमुलक कार्यक्रम गर्ने चेतावनी दिइएको छ ।

नव निर्वाचित सभामुखलाई बधाई दिन र सञ्चार क्षेत्रसँग सम्बन्धित कानूनका विषयमा छलफल गर्न महासंघको प्रतिनिधि मण्डलले शुक्रवारर सभामुख घिमिरेसँग भेटघाट गरेको थियो । भेटघाटमा सभामुख घिमिरेले पत्रकार र सञ्चारमाध्यम विकाउ भएको, पित पत्रकारिता हुने जस्ता लाल्छना लगाएका थिए । सामाजिक सञ्जालमा सभामुखको आलोचना भए पछि सचिवालयको तर्फबाट शुक्रवार प्रष्टिकरण आएको थियो ।

तर, अभिव्यक्ति अमर्यादित, समग्र सञ्चार क्षेत्रलाई लान्छित गर्ने प्रकृतिको भएकाले महासंघले आज विज्ञप्ति प्रकाशन गरी सभामुखको धारणा माग गरेको हो । विज्ञप्तिमा सभामुखको अभिव्यक्तिले समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको ठहर गरेको गरिएको छ । सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरित सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट भएको उल्लेख छ ।

नेपालको राजनीतिक स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा अनवरत संघर्ष गर्दै आएको नेपाली सञ्चार क्षेत्र व्यावसायिक बन्दै गएको बेला समग्र प्रेस जगतलाई लान्छित गर्ने अभिव्यक्ति आउँनुले सञ्चार क्षेत्रको विश्वसनीयता र व्यावसायिकतामा आँच आउन सक्नेतर्फ महासंघ गम्भीर चासो र चिन्ता प्रकट गर्दछ भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्