Logo

मानहानीको अभियोगमा राहुल गान्धीलाई दुई वर्ष जेल



भारत, ९ चैत । भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीलाई गुजरातको एक अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको छ ।

विपक्षी दलका नेता गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको थरका बारेमा गरेको टिप्पणीले समस्त मोदी थर भएकाको मानहानी भएको ठहर गर्दै सुरतस्थित अदालतले आज उक्त आदेश गरेको हो । गान्धीले तत्काल जेल जानु पर्दैन किनकी उनलाई उक्त फैसलाविरुद्ध अपिल गर्ने ३० दिनको म्याद दिइएको छ ।

सन् २०१९ मा कर्नाटक राज्यको कोलारमा आयोजित चुनावी सभामा नेता गान्धीले ‘चोर मोदीहरू’ भनेका थिए । उनले भगौडा व्यापारी नीरब मोदी र ललित मोदीलाई लक्ष्य गर्दै त्यसो भनेका थिए । नेता गान्धीको उक्त अभिव्यक्तिले मोदी थर भएका सबैको मानहानी भएको जिकिर गर्दै भारतीय जनता पार्टी (भाजपा)का विधायक एवम् गुजरात राज्यका पूर्वमन्त्री पूर्णेश मोदीले उनीविरुद्ध मुद्दा दायर गरेका थिए ।

अदालतको फैसला सुन्न नेता गान्धी सुरत अदालत पुगेका थिए । “मेरो धर्म सत्य र अहिंसामा आधारित छ । मेरो भगवान् सत्य हो, अहिंसा यसलाई प्राप्त गर्ने माध्यम हो,” अदालतको आदेशपछि सामाजिक सञ्जालमा महात्मा गान्धीलाई उद्धृत गर्दै राहुल गान्धीले हिन्दीमा लेखेका छन् ।

पार्टीका समर्थकले सुरतका विभिन्न क्षेत्रमा गान्धीका पक्षमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले ‘भाजपाको तानाशाही अगाडि काङ्ग्रेस नझुक्ने’ ‘राहुल गान्धी हिन्दुस्तानको सिंह हुनुहुन्छ’ लेखिएका बोकेका ‘प्लेकार्ड’ बोकेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्