Logo

इलाममा उपनिर्वाचनको तयारी पुरा



इलाम, १४ वैशाख । शनिबार हुने इलाम– २ को उपनिर्वाचनका लागि तयारी पुरा भएको छ। अहिले मतदानमा खटिएका कर्मचारी र सुरक्षाकर्मी मतदानस्थल पुगेर सबै किसिमका तयारी गरिरहेका छन्।

इलाम– २ का एक सय ४९ मतदान केन्द्रमा स्थानीय राजनीतिक दलसँग सर्वदलीय बैठकसँगै मतदानस्थलको घेराबारा, मतदातालाई राखिने लाइन, राख्ने ठाउँलगायत तयार भइसकेको छ।

मतदातालाई पुरुष र महिलाले अलग–अलग लाइनमा बसेर मतदान गर्न सक्नेगरी व्यवस्थापन गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले जानकारी दिनुभयो।

हरेक मतदान केन्द्रमा सियोदेखि सलाइसम्म ४२ प्रकारका सामग्री मतदान केन्द्रमा पुगिसकेका छन्। सबै मतदान केन्द्रलाई ‘अति संवेदनशील’मा राखेको सुरक्षा समितिले यसपटक निर्वाचन सुरक्षाका लागि विशेष सुरक्षा व्यवस्था अपनाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो।

निर्वाचनमा सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी र चार सय ५० नेपाली सेना र अनुसन्धानका २४ जना परिचालन जनाइएको छ।

शनिबार छ पालिकाका ४२ वडामा मतदान हुन लागेको हो। यसपटकको निर्वाचनमा इलाम–२ मा ५६ हजार आठ सय ६९ महिला, ५९ हजार १८ पुरुष, दुई अन्य गरी एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्