Logo

पर्यटक लोभ्याउँदै कालिका सिमसार: मेचीनगर झरनाको उद्धघाटन



मेचीनगर, ३ वैशाख । झापाको मेचीनगर नगरपालिका वडा नं.११ र १२ मा अवस्थित कालिका सिमसारभित्र निर्माण गरिएको मेचीनगर झरनाको शनिबार एक कार्यक्रमका बीच उद्धघाटन गरिएको छ ।

उक्त झरनाको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि तथा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले रिबन काटेर गरेका थिए ।

नयाँ वर्ष २०८० सालको अवसर पारेर शुभकामना आदानप्रदानसहित झरनाको उद्धघाटन समरोहमा बृहत सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । उक्त सांस्कृतिक कार्यक्रममा गायक डम्बर नेपाली साथै स्थानीय बेन्ड तथा कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।

कालिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष योगराज भट्टराई ‘योगेश’को अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर नगरपालिका वडा नं.११ का वडाध्यक्ष रुद्रप्रसाद डाँगी, झापा जिल्ला उपभोक्ता वन महासंघका अध्यक्ष देवप्रकाश भण्डारी, मेचीनगर नगरपालिकाका कार्यपालिकाका सदस्य अमित खम्बू, मेचीनगर नगरपालिका वडा नं.११ र १२ का जनप्रतिनिधी, विभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिनिधी, स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

वि.सं. २०६३ सालदेखि औपचारिक रुपमा कालिका सिमसार पर्यटन क्षेत्र सञ्चालनमा ल्याइएको हो । यस सिमसारमा माछा पोखरी, पहाडे बनावटको दुईतले घर, लोमाई आकारको पोखरी, आकर्षक फूलबारी, बुद्धको मूर्ति, कालिका स्तम्भ, सिसाको घुम्ने घर, आकासे पूल, बालबालिकाका लागि विभिन्न मनोरञ्जनका खेलहरु साथै सिमसार क्षेत्रमा बाँदर, ढेंडु, गिद्ध, हरिण, हुचिल लगायत जंगली तथा घरपालुवा जनवारहरु रहेका छन् ।

मेचीनगर नगरपालिका वडा नं.११ का वडाध्यक्ष रुद्रप्रसाद डाँगीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी हरिकृष्ण भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्