Logo

देशमा देखिएका समस्या समाधानका लागि सबै एकजुट हुनुपर्छ: खनाल



जनकपुरधाम, ९ वैशाख । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा देखिएका समस्या समाधानका लागि सबै शक्ति एकजुट हुनुपर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७५औँ स्थापना दिवसका अवसरमा आज जनकपुरधाममा आयोजित कार्यक्रममा नेता खनालले देशको आर्थिक, सामाजिक, सांस्कृतिक र राष्ट्रियतामाथि देखिएको सङ्कट समाधानका लागि सबै शक्ति एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए ।

उनले पछिल्लो निर्वाचनपछि सङ्घ र प्रदेश सरकार बनाउने प्रक्रिया जारी रहेकाले दुवै तहका सरकारले पूर्णता पाएपछि जनचाहनाअनुसार विकासका कामले तीव्रता पाउने विश्वास व्यक्त गरेका हुन् ।

त्यसैगरी उनले संविधानले परिकल्पना गरेको समाजवादमा जान देशका सबै वामपन्थी कम्युनिष्ट शक्तिहरू मिल्नुको विकल्प नभएको समेत बताए ।

“समाजमा रहेका सबै विभेद, असमानता र अन्यायको अन्त्यको आधार समाजवाद हो भन्ने कुरा दलहरू सबैले भनिरहेका छन् तर यो भन्ने र देखाउने विषयमात्रै होइन”, पूर्वप्रधानमन्त्री खनालले भने, “समाजवादलाई व्यवहारमा ल्याउन जरुरी छ । त्यसका लागि हाम्रो पार्टीले देशभर सन्देश फैलाइरहेको छ ।”

प्रतिक्रिया दिनुहोस्