Logo

नेपाल एयरलाइन्सको सर्जरी गर्छु ः पर्यटनमन्त्री राई



काठमाडौँ, १५ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई भेन्टिलेटरको अवस्थाबाट सर्जरी गरेर स्वस्थ मान्छेजस्तै डिस्चार्ज गर्ने बताएका छन् ।

मन्त्री किरातीले विभागीय मन्त्री आएपछि निगमको कार्यकारीदेखि लिएर विभागीय प्रमुख नियुक्ति गर्दा आर्थिक चलखेलसमेत हुने गरेको दाबी गरे । नेपाल वायुसेवा निगमको वार्षिक समीक्षा बैठकका अवसरमा बोल्दै पर्यटनमन्त्री किरातीले निगम सुधार्ने व्यावसायिक कार्ययोजना बनाउने नभई पैसा असुल्ने कार्ययोजना बनाउने गरेको आरोपसमेत लगाए ।

उनले निगम बिग्रनुमा राजनीतिक नेतृत्व नै जिम्मेवार भएको टिप्पणी गरे । उनले भने, “वायुसेवा निगम कमजोर बनाउने नेतृत्व नै रहेछन् । म मन्त्री भएको सय दिन भयो, यो बेलासम्म मलाई धेरै कुरा थाहा भयो, वायुसेवा निगमलाई यो अवस्थामा पु¥याउन राजनीतिक नेतृत्वकै ठूलो हात रहेछ । निगमका कर्मचारी पनि चोखा छैनन् ।”

मन्त्री किरातीले आफू कुनै पनि आर्थिक प्रलोभनमा नपरी निगमलाई सुधार्न भरपुर प्रयत्न गर्ने बताए । उनले भने, “विगत जे भयो, अब निगमलाई टुलुटुलु हेरेर बस्न सक्दिनँ । तपाईंहरूसँग मलाई विश्वास छ, अब निगमलाई यो भेन्टिलेटरको अवस्थाबाट सर्जरी गरेर स्वस्थ मान्छेजस्तै डिस्चार्ज गर्नुपर्छ ।”

निगमलाई सुधार्न जस्तोसुकै जोखिम मोल्न तयार रहेको भन्दै मन्त्री किरातीले आफूलाई कुनै पनि दबाब र प्रभावले फरक नपर्ने जिकिर गरे । उनले निगम सुधार्ने मौखिक प्रतिबद्धताको व्यावहारिक कार्यान्वयन गर्न पनि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निर्देशन दिए ।

उनले निगमको सञ्चालक समिति सदस्यहरू सुविधाका लागि प्रतिस्पर्धा गरिरहेको सुनेको भन्दै सुविधाका लागि राजनीतिक नियुक्तिको दुरुपयोग हुन नहुने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्