Logo

मणिपुरमा दुई समुदायबीचको हिंसा उग्र, कर्फ्यु जारी



भारत, २२ मंसिर । भारतको मणिपुर राज्यमा दुई समुदायबीचको हिंसा उग्र बन्दै गएको छ ।

जनजाति र गैरजनजाति समुदायबीचको हिंसाका कारण पछिल्ला केही दिनदेखि मणिपुर अशान्त रहेकाे बीबीसी हिन्दीले जनाएको छ ।

प्रदेश सरकारले हिंसा नियन्त्रण गर्न नसकेपछि केन्द्र सरकारले विभिन्न सुरक्षा बल पठाएको छ । सरकारले मणिपुरमा पाँच दिनका लागि इन्टरनेट बन्द गरेको छ भने आज र भोलि मणिपुर आउजाउ गर्ने सबै रेल सेवा पनि रोकिएका छन् । अवस्था सुधार नभएमा रेल सेवा थप रद्द हुने चेतावनी दिइएको छ ।

भारतीय सेनाका जनसम्पर्क अधिकारी लेफ्टिनेन्ट कर्नल महेन्द्र रावतले मणिपुरको प्रभावित क्षेत्रमा कर्फ्यु लगाइएको र प्रशासनले देख्नासाथ गाेली हान्न सेनालाई अधिकार दिएको बताए ।

स्थिति नियन्त्रण गर्न सेना र र्‍यापिड एक्सन फोर्सका ५५ वटा टुकडी मणिपुर पठाइएको छ । सडकहरूमा सेनाले मार्चपास गरिरहेका छन् । भारतीय वायु सेनाका विमानले निगरानी गर्ने र हिंसामा फसेकाहरूको उद्धारको काम गरिरहेको छ ।

गएकाे अप्रिल १९ मा मणिपुर उच्च न्यायालयले राज्य सरकारलाई मैतेई समुदायलाई चार हप्ताभित्र अनुसूचित जनजाति (एसटी) कोटीमा समावेश गर्ने अनुरोधमाथि विचार गर्न आदेश दिएकाे थियाे । त्यही आदेशकाे विरोधमा अल ट्राइबल स्टुडेन्ट्स युनियन मणिपुरले चुराचांदपुरको तोरबंग इलाकामा बुधवार ‘आदिवासी एकता मार्च’ र्‍याली निकालेको थियो । हजाराैँ मानिस सहभागी र्‍यालीकै क्रममा हिंसा भड्किएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्