Logo
  चैत्र १५, २०८० बिहीबार

गैरआवासीय नेपालीलाई नागरिकता दिन दलका नेता प्रतिबद्ध



काठमाडौँ, २५ वैशाख । गैरआवासीय नेपालीलाई आर्थिक सामाजिक अधिकारसहितको नागरिकताका प्रदान गर्ने विषयमा प्रमुख दलका नेताले साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।

चेक रिपब्लिकको राजधानी प्रागमा जारी गैरआवासीय नेपाली सङ्घको १५ औँ युरोप क्षेत्रीय सम्मेलनलाई आइतवार सम्बोधन गर्दै नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले गैरआवासीय नेपालीहरूका मुद्दाका एक मत जाहेर गरेका हुन् ।

परराष्ट्रमन्त्री एनपी साउदले संविधानले गरेको परिकल्पनाभित्र गैरआवासीय नेपालीले नागरिकता पाउनेमा दुईमत नभएको बताए । संविधानले नै व्यवस्था गरेर गैरआवासीय नेपालीलाई आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिने भनी स्पष्ट व्यवस्था रहेकाले अबको केही समयभित्रै नागरिकताको मुद्दा सम्बोधन हुने बताए ।

परराष्ट्रमन्त्री साउदले भने, “गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी मुद्दा १५ ÷१६ वर्षदेखि बहसको विषय बनिरहेको छ, अब यसलाई सम्बोधन गर्न ढिलो भइसक्यो, यस मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता म सरकारको तर्फबाट गर्दछु ।” गैरआवासीय नेपालीको नागरिकताको विषयमा दलीय रूपमा कुनै समस्या र विमति नभएको भन्दै बताउँदै भने, “संविधान सम्मानित छ र परिवर्तनशील पनि छ । संविधान परिवर्तन नहुन्जेल चाही हामी संविधानको दायराभित्र बस्नुपर्छ । तपार्इँहरूका समस्यालाई कानुनी फ्रेमवर्कमा राखेर समाधान गरिनेछ ।”

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गैरआवासीय नेपाली नागरिकतालगायत विषय नेपाली कांग्रेस सकारात्मक रहेको बताए । उनले गैरआवासीय नेपालीको नागरिकता, सम्पत्ति अधिकार, मताधिकारका विषयमा विभिन्न कानुनमा संशोधन गर्नुपर्नेमा जोड दिए ।

एमाले उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नेपालको संविधान निमार्णमा गैरआवासीय नेपालीहरूको समेत भूमिका भएको चर्चा गरे । उनले भने, “नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकता प्रष्ट लेखिएकोले मूर्तता दिनुपर्छ । त्यसको लागि हामी सहयोग गर्न तयार छौँ ।”

उनले समयअनुकूल आवश्यकताअनुसार संविधानलाई संशोधन तथा परिमार्जन गरेर गैरआवासीय नेपालीलाई थप अधिकार दिन सकिने बताए । उनले गैरआवासीय नेपाली सङ्घलाई सबै नेपालीको साझा संस्थाको रूपमा विकास गर्न सबै दलीय शक्ति एक हुनुपर्नेमा जोड दिए ।

रास्वपाका सांसद मनिष झाले गैरआवासीय नेपालीसम्बन्धी नागरिकता समस्या नभएर पृथक र तत्काल सम्बोधन गर्नुपर्ने मुद्दा भएको भन्दै चर्चा गरे । उनले नेपालका राजनीतिक दललाई थप जिम्मेवारी दिन गैरआवासीय नेपालीलाई आग्रह गरे । माओवादी केन्द्रका सांसद खिमलाल देवकोटाले गैरआवासीय नेपालीको मागप्रति प्रतिबद्धता व्यक्त गरे ।

शुक्रबारदेखि सुरु गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १५औँ युरोपेली सम्मेलन चेक रिपब्लिकको राजधानी प्रागमा जारी छ । सम्मेलनको अन्त्यमा प्राग घोषणपत्र जारी गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्