Logo
  बैशाख ६, २०८१ बिहीबार

तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले पाएनन् पाँच महिनादेखि तलब



रुपन्देही, ११ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।

उनीहरुले तलब माग गरी आन्दोलन थालेका छन् । तिलोत्तमा नगरपालिका अन्तर्गतका १७ वटा स्वास्थ्य संस्थामा कार्यरत ७८ जना स्वास्थ्यकर्मीले पुस महिनादेखिको तलब नपाएपछि बाध्य भएर आन्दोलित गर्नुपरेको बताएका हुन् ।

तलब नपाएपछि गएको जेठ १ गते सबै स्वास्थ्यकर्मीको तर्फबाट ज्ञापनपत्र विभिन्न निकायमा बुझाएको तर पनि सुनुवाइ नभएपछि चरणबद्धरूपमा आन्दोलन थालेको उनीहरुले बताएका छन् ।

स्वास्थ्यकर्मी सङ्घर्ष समितिका संयोजक ज्ञानप्रसाद पौडेलले आफूहरूले तलबका लागि मेयर रामकृष्ण खाँणसहितलाई मौखिक र लिखित माग गर्दा पनि सुनुवाइ नभएको गुनासो गरेका हुन् ।

पाँच महिनासम्म तलब नपाउँदा घरखर्च चलाउन समस्या भएको भन्दै स्वास्थ्यकर्मीले छिटो तलब पाउने व्यवस्थाका लागि नगरपालिकासँग आग्रह गरेका छन् ।

तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले दरबन्दीभन्दा धेरै कर्मचारी कार्यरत हुँदा तलब दिन नसकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्