Logo

नगरपालिकाभित्र कामै नलाग्ने विद्यालय छैनन्: तिलचन भण्डारी



सामुदायिक विद्यालय गरिबका छोराछोरीले पढ्ने विद्यालय हुन् भन्ने मानशिकता विकास भएको छ । सामुदायिक विद्यालय खत्तम हुन्छन् भन्ने मानशिकताले सामुदायिक विद्यालय सूधार हुन सकेको छैन । यसले विद्यार्थी संख्या न्युन हुँदा कतिपय विद्यालय अन्य विद्यालयमा गाभिएका छन् । नेपालको संविधानले माध्यमिक तहको शिक्षाको जिम्मेवारी पालिकालाई दिएको छ । संविधानको यही अधिकार प्रयोग गरि बिर्तामोड नगरपालिका विद्यालय सूधार अभियानमा लागेको छ । बिर्तामोड नगरपालिकाले विद्यालय सूधारका लागि के गर्दै छ? सूधारका कस्ता योजना छन्? नगरभित्रका सामुदायिक विद्यालयको अवस्थाका बारेमा नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीसँग सजिलोखबर डटकमका सम्वाददाता उमेश खतिवडाले गरेको वार्तालाप ।

बिर्तामोड नगरपालिकाभित्रका सामुदायिक विद्यालयको अवस्था कस्तो छ?

बिर्तामोड नगरपालिकामा १८ वटा सामुदायिक र दुई वटा संस्कृत विद्यालय छन् । सामुदायिक विद्यालयमा सिकाइको विस्तार, सूधार र भौतिक संरचनाको व्यवस्थापनमा नगरपालिकाको सम्पूर्ण पक्ष लागि परेका छन् । बिर्तामोड नगरपालिकाको हकमा नगरपालिकाभित्र कामै नलाग्ने खालका विद्यालय छैनन्, कुनै निकै अगाडी पुगेका छन् भने कुनै सिकाइ र व्यवस्थापन सूधारका लागि लागेका छन् ।

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन नगरपालिकाले के-कस्ता कार्यक्रम गर्दै आएको छ?

विद्यालयमा सिकाइ सूधार, शुद्ध खानेपानी, शौचालय, बाल विकास केन्द्रमा अध्ययन गर्न विद्यार्थीका लागि व्यवस्थित बस्ने ठाँउको व्यवस्था, बालबालबालिका लागि सिकाइ सामग्री र र्याकको व्यवस्था, कक्षा कोठा बालमैत्री र प्रविधिमैत्री व्यवस्थापनका कामलाई सँगसँगै जोड्दै लगेका छन् । विद्यालयमा केही समस्या आयो भने प्रविधिसँग जोडेर काम गर्न सक्ने अवस्था सिर्जना गरिएको छ । सबै विद्यालयमा इन्टरनेट जडान गरिएको छ । स्थानीय तहको पाठ्यक्रम निर्माण गरी प्रत्येक विद्यालयमा पुर्याएका छौँ ।

सामुदायिक विद्यालयमा यातायातको व्यवस्था गर्न के-कस्ता कामहरु भइरहेका छन्?

यातायात व्यवस्थाका लागि शिक्षा शाखाबाट त्यति पहल भएको छैन् । यातायातको भनेको अलिक जटिल विषय हो, त्यसमा लागत साझेदारी भएन भने यातायातलाई विद्यालयले धान्ने अवस्था हुँदैन । अभिभावकको समन्वयमा लागत साझेदारी गरेर धान्ने अवस्थामा रहेका बिर्तामोड नगरपालिकाभित्र देवी मावि, वीर अमरसिंह प्राविधिक विद्यालय र महेन्द्ररत्न माविले यातायात खरिद गरिसकेका छन् । अन्य विद्यालयलाई यातायातको साधन खरिदका लागि प्रोत्साहित गरेका छौँ । हामी आफैँले यातायातको साधन खरिद गरेर वितरण गर्ने अवस्थामा छैनौं ।

नगर भित्रका सामुदायिक विद्यालयमा दरबन्दीको अवस्था के छ?

निम्न र माध्यमिक तहमा दरबन्दीको समस्या छ । बिर्तामोड नगरभित्रका सामुदायिक विद्यालय १/२ वटा बाहेक अरु पछी सिर्जना भएका विद्यालय छन् । माध्यमिक र निम्न माध्यमिक तहमा प्राय: सबै विद्यालयमा दरबन्दीको कमी छ भने प्राथमिक तहमा बढी छ । विद्यालयले अभिभावक र विद्यार्थीको आकर्षण बढाउन अङ्ग्रेजी माध्यम सञ्चालन गर्न विद्यालयले आफ्नै स्रोतमा निजी शिक्षक राखेकाले, ति शिक्षकको व्यवस्थापनले दरबन्दी कम देखिएको हो । दरबन्दी थाप्ने अवस्था पनि जटिल रहेको छ । किनभने विद्यार्थी धेरै भएका केही विद्यालयमा ५० जनासम्म निजी शिक्षक छन् ।

बिर्तामोड नगरपालिकाले शिक्षा शाखालाई गर्ने सहयोग कस्तो रहेको छ?

बिर्तामोड नगरपालिकाले समग्रमा हेर्दा शिक्षा शाखालाई राम्रै साथ सहयोग गरेको छ । तर, अझै बढी चाहिने अवस्था छ, स्रोत व्यवस्थापन गर्नु पर्ने अवस्था छ । नगरपालिकाको आम्दानी स्रोतको आधारमा हेर्दा अन्य पालिकाको तुलनामा न्यून छैन् । बजेटको व्यवस्था हुन् सके अझ विद्यालयलाई सूधार गरेर लैजान सकिन्छ ।

अन्त्यमा विद्यालय प्रशासन र अभिभावकलाई के भन्न चाहानु हुन्छ?

विद्यालय प्रशासन र अभिभावक दुबैले मिलेर मात्र विद्यालय व्यवस्थापन गर्न सकिन्छ । अभिभावकले विद्यालय र विद्यार्थी सिकाइप्रती चासो राख्नुपर्छ । अभिभावकले आफ्नो विद्यार्थी के गर्दैछ भनेर पटकपटक नगरानी गर्नुपर्छ । विद्यालयले बालबालिकाको दिगो र व्यवहारिक सिकाइमा जोड दिनुपर्छ । भौतिक संरचनाको पाटो विद्यालय व्यवस्थापन समितिलाई जिम्मा दिएर प्रधानाध्यापक र सम्पूर्ण शिक्षकले विद्यार्थीको दिगो र व्यवस्थित सिकाइको क्रियाकलापलाई जोडेर अघि बढ्न सक्यौँ भने छोटो समयमा धेरै अगाडी बढ्न सक्छौँ । हाम्रा केही विद्यालय अगाडी बढी रहेका छन् । अन्य विद्यालयलाई विद्यार्थीको सिकाइ नै अन्तिम बिन्दु हो भन्ने लक्ष्यका साथ अगाडी बढ्न आग्रह गर्छु ।

प्रतिक्रिया दिनुहोस्