Logo
  चैत्र १५, २०८० बिहीबार

संगीत भनेको साधना हो



वादल प्रसाईं विगत सात वर्षदेखि सांगीतिक क्षेत्र सक्रिय रहेका पप गायक हुन् । ४० वटा भन्दा बढी म्युजिक भिडियोको निर्देशन गरिसकेका गायक प्रसाईंले २ वटा एल्बम बजारमा ल्याइसकेका छन् । उनले ‘बादल’ र ‘फुलको हत्या’ नामक एल्बम बजार ल्याइसकेका छन् । भारतको उपचारमा पुगेर फर्किएका गायक बादल प्रसाईंसँग झापामा आएको बेला गरिएको  कुराकानी ः
अहिले के मा ब्यस्त हुनुहुन्छ ?
— भूकम्पको कारण देश शोकमा डुबेको अवस्था छ । त्यसकारण कुनै सांगीतिक कार्यक्रमहरु गरिएको छैन । भूकम्प पीडितहरुलाई राहत वितरण गरी उपचारको लागि भारत पुगेर फर्किएको छु ।
भूकम्प पीडितलाई कहाँ–कहाँ सहयोग गर्नुभयो ?
— भूकम्पले ठूलो जनधनको क्षति पुगेको कारण आफूले सकेको सहयोग काठमाडौं र सिन्धुपाल्चोकमा गरियो । भूकम्प पीडितलाई सबैको साथ र सहयोग  आवश्यक रहेको छ ।
सिन्धुपाल्चोक र काठमाडौंमा राहत वितरण गर्दा कस्तो अवस्था देख्नुभयो ?
— धेरै दुःख लाग्दो अवस्था थियो । घर भत्किएको र आफन्त गुमाएको पीडा भूकम्प प्रभावितहरुमा देखिन्थ्यो । उनीहरुलाई राज्यले पुनःनिर्माणमा सहयोग गर्न आवश्यक छ ।  
प्रशंग बदलौं, गायन क्षेत्रमा कसरी आउनुभयो ?
— गीत संगीतमा सानैदेखि लगाब थियो । संगीत मनपर्ने भएकोले र रहरको कारण पनि गायनमा लागेको हुँ ।
संगीतलाई कसरी बुझ्नु भएको छ ?
— संगीत भनेको एउटा साधना हो । संगीत बिना जीवन अधुरो हुनेछ । खास गरेर संगीतलाई बुझेर बुझ्न कहिल्यै सकिंदैन । मैले संगीतलाई जीवनको रुपमा लिएको छु ।
तपार्इंको पहिलो एल्बम कुन हो ?
— ‘बादल’ पहिलो एल्बम हो ।
गीतसंगीतमा लागेर बाँच्न सकिन्छ ?
— यस क्षेत्रमा लागेर बाँच्न सकिने आधारहरु तयार हुँदै गएको छ । एल्बम निकालेर भन्दा पनि देशविदेशमा हुने सांगीतिक कार्यक्रमले गर्दा गायक÷गायिकाहरुलाई सहज बनेको छ । नत्र भने एल्बम निकालेर मात्र जीवन चलाउन गाह्रो छ  ।
अब आफ्नो सफलतालाई कसरी कायम राख्ने सोच बनाउनु भएको छ ?
— म स्रोताहरुलाई राम्रो गीत पस्कने कोशिषमा नै छु । अझै राम्रो गीत गाउँदै जाने र निरन्तरता दिने सोचाई बनाएको छु ।
विहे कहिले गर्ने विचार गर्नुभएको छ ?
— विहे आफूले चाहेर नहुने रहेछ भगवानले जहिले जुराउनुहुन्छ, त्यतिबेला हुन्छ होला, सायद ।
हर्षिका श्रेष्ठसँग तपाईको प्रेम छुटेपछि सम्बन्ध कस्तो छ ?
— हामी अहिले दुई असल साथीका रुपमा रहेका छौं ।
तपाईहरुको प्रेम के कारणले टिकेन ?
— भगवानले नै यो जोडी नबनाएको हुनु पर्छ । हर्षिका राम्रो कलाकार हुन् । उनी मिलनसार छिन् ।
अन्त्यमा केही छन् की ?
— आगामी दिनहरुमा राम्रा राम्रा गीत संगीतहरु लिएर आउने छु । स्रोताहरुले मन पराइदिनु हुनेछ भन्ने अपेक्षा लिएको छ ।
–सरोज बस्नेत
 

प्रतिक्रिया दिनुहोस्