Logo
  माघ ८, २०७८ शनिबार

अहिलेका लोकगीत सुन्दा भाका पहिचान हुँदैनः एलपी जोशी



रिटिङ रिटिङ नबजाउ बिनायो,बिनायोले मन मेरो  छिनायो, ऐया …आक्काका…सान्नानी , पूराना चर्चित पूर्वेली लोकगायक एलपी (लक्ष्मीप्रसाद )जोशीले गाएको यस गीत मन नपराउने सायदै कोही होलान् । नेपाली लोकसँगीतका पारखीहरुबीच लोकप्रिय गायकका रुपमा परीचित उनी पुराना गाउँ र बस्तीका गीतहरु गाएर नै चर्चाको शिखरमा पुग्न सफल भएका हुन् । नेपाली समाजको मैलिकतामा रहेर शव्द संकलन तथा सृजना गर्न माहिर उनका गीत पछिल्ला समयका युवा पुस्ताले नजाने पनि बुढापाकाको मुखबाट भने अझै विलाउन सकेको छैन । झन्डै ४० ओटा लोकभाकाहरु गाएका उनी थोरै गीत गाएर धेरै चर्चा कमाएका गायक मध्येका एक हुन् । उनका गीतहरु मध्य ओल्लो खोलो पल्लो खोलो कमिलो गोलो बनेर  , के को माला केको माला सुपारीको माला , निघालो घारीमा च्याखुरा नाच्यो सिउर त लक््रकेको ,  लगाएतका उनका गीतहरु अध्याधिक स्रोताको मन जित्न सफल भएका थिए  । लोकगायकका रुपमा मात्र नभएर शव्द संकलक , संगीतकार ,चित्रकार अनि कलाकारका रुपमा समेत उनी परीचित छन् । उहाँ हाल झापाको दमकस्थित फागुनन्द चोकमा छोराहरुसँग बस्दै आउनुभएको छ । २०१९ सालमा राष्ट्रव्यापी लोकगीत सम्मेलनमा राजा महेन्द्रबाट स्वर्णपदक पाएका उनले हालसम्म दुई दर्जन भन्दा बढी सम्मानबाट सम्मानित तथा पुरस्कृत भइसकेका छन् । तिनै एकसमयका चर्चित गायक जोशीसँग गरिएको कुराकानी ः

 

 सन्चै हुनुहुन्छ ?
 – सन्चै छु आजसम्म त ।

 दिनचर्या कसरी बिताई रहनुभएको छ ?
 –सामान्य छ आजभोली , घरमा बस्योे सामान्य घरायसी काम गरो , समय निकालेर बजारमा आएका लोकगीत सुन्छ , त्यसका अलवा घरमै सानो किराना पसल छ त्यही बसेर दिनहरु काटिरहेका छु ।

 संगीत सृजनामा कति समय खर्चिनु हुन्छ ?
–उमेरले पनि पाको भईछ क्यारे , आजभोली पहिलाको बेला जस्तो जोस जाँगर छैन् , एकदमै थोरै समय मात्र संगीत सृजनाका लागि दिने गरेको छु । विशेष गरेर पछिल्ला समय म नवगायक गायिकाको सृजनामा रमाउने गरेको छु ।

 भख्खरै सृजित  कुनै सृजना ?
–केही दिन अघि मात्र सृजना गरेको छु । फुल दिउ भने फुलको पातै छैन , हाँसी दिउ त अगाडिको दाँतै छैन्  र अर्को भनेको न म राजेश हमाल ,न म भुवन केसी म ,त सिदा सादा परे एलपी जोशी हुन् ।

 पहिलो पल्ट गीत रेकर्ड गर्दाको स्मरण कस्तो छ ?
–सानैबाट लोकगीत गाएर रेकर्ड गर्ने ईच्छा थियो । रेडियो नेपालबाट २०१३ सालमा पहिलो पल्ट गीत रकर्ड गरे । सँगैका साथीले भ्वाइस टेस्ट गराए पनि मैले जरुरी भएन , पहिलो गीत नेपाली माया नेपालै कस्तो छ ,ले नै मलाई गायकका रुपमा चिनायो । पहिलोपल्ट गीत गाउँदा आठ रुपैयाँ पारिश्रमिक  पाएको म कहिले भुल्दीन ।

लोकसंगीतमा लाग्ने प्रेरणा कोबाट पाउनुभयो ?
–मेरो बुबा कृष्णमान सिंह जोशी भजन गाउनुहुन्थ्यो । त्यस बेला बुबाले गाएको भजन सुन्न गाउँभरीबाट मान्छेहरु जम्मा हुन्थे , बुबाले गाउँमा पाएको सम्मानले गर्दा नै मलाई यस क्षेत्रमा लाग्ने हौसल्ला मिल्यो । त्यसका अलवा घरपरिवारको साथ र सहयोगले यस क्षेत्रमा लाग्ने प्रेरणा मिल्यो , मेरा गीतहरुलाई माया गर्दै र दर्शक स्रोताले सदैव यस क्षेत्रमा लागिरहन थप उर्जा  मिल्यो ।

 सांगीतिक यात्राको क्रमका कुनै एउटा स्मरर्णीय क्षण ?
–जीवनको लामो समय यस क्षेत्रमा बितेछन् ,धेरै नै छन ,मामा घर धरानस्थित फुस्रे गएको बेला साझा पख शेर्पा ढाकरहरुले गाएको गीत सो.. याला सो…याला गीतले एकदमै मन छुयो । त्यसलाई सँगीत भरेर सबै दर्शक स्रोतामाझ लै जाने उद्देश्यले गीतको भाव अनि लय संकलन गर्न धनकुटाको शेर्पा गाउँमा करीव ६ बसे । गीत  रेर्कड गरिसके पछि एकदमै चर्चित भयो । तर गीतको अर्थ केलाउन नसकेपछि पुनः गीत बझ्न बन्द भयो । अहिले पनि त्यस गीतको संगीत रेडीयो नेपालमा बज्दै छ । जसले मलाई यस गीतको याद दिलाउँछ ।

 यस क्षेत्रमा लागेर के पाए , के गुमाएको महशुस हुन्छ ?
–सबै भन्दा ठूलो कुरा भनेको दर्शक स्रोताको माया हो , मैले यस क्षेत्रमा लागेर पाएको सबै भन्दा ठूलो उपलव्धी यही नै हो ,जसले गर्दा मलाई यस क्षेत्रमा सदैव सक्रियताका साथ लाग्ने हौसल्ला र  प्रेरणा मिल्यो । दर्शक स्रोताको न्यानो माया अनि जिवन वितित गर्ने आधार पाए खासै केही गुमाए जस्तो लाग्दैन ।

 तपाईंका पुराना चर्चित गीतहरु अहिलेका युवापुस्ताले पुनः रेकर्ड गरेको पाईन्छ , तपाईंबाट स्वीकृत लिएका छन् ?
–ओल्लो खोलो पल्लो खोलो , कान्छी मट्याङ ट्याङ लगायतका  गीतहरु अहिलेका नवगायकहरुले पुनः रेर्कड गरेका छन् । केहीले मेरो स्वीकृत लिएर गाएका छन् भने धेरैले मेरो सृजनालाई उनीहरुको आफ्नै सृजना भन्दै गाएका छन् । पछिल्लो समयका चर्चित गायक अमृत गुरुङले  समेत मेरो गीतलाई उनको भन्दै चर्चा कमाए । उनले गाएको सानोमा सानो कमलको हाँगा , रेस्सम।।।। भन्ने गीत पहिले नै मैले रेडियो नेपालमा गाएको छु पछि उनले कपी गरे, चर्चा कमाए ,मेरो स्वीकृत बिना ।

 तपाईको समयमा एउटा उत्कृष्ट गीतको सृजना गर्न र त्यसलाई स्रोतामाझ पु¥याउन कस्ता कठिनाई थिएँ ?
एकदमै असहज परिस्थिती थियो ।  हाम्रो समयमा गीतको सृजना गर्न त्यसमा पनि उत्कृष्ट गीत त झनै गाह्रो थियो । एउटा गीत रेकर्ड गर्न मात्रै करिव ६ दिन लाग्थ्यो । अहिले जस्तो जताततै रेकर्डिङ स्टुडियो थिएन काठमाडौं पुग्नुपथ्यो , एकदमै खर्चिलो हुन्थ्यो । गीत तयार पारेपछि स्रोतामाझ लैजान झनै कठिन अहिले जस्तो संचारको विकास थिएन केवल रेडियो नेपालबाट बज्थ्यो स्रोताको प्रतिकृया पाउन समय लाग्थ्यो ।

 धेरै गीतहरुले स्रोताको मन जित्न सफल भएपनि एकल एल्वम किन ल्याउनु भएन ?
–त्यस समयमा अहिले जस्तो धेरै गीतहरु राखेर एल्वम निकाल्ने चलन थिएन , एकदमै खर्चिला हुने भएकाले पनि एउटा गीत रेकर्ड गराएर नेपालबाट बजाउने चलन थियो । पछि २०५३ सालमा म्यूजिक नेपालबाट मेरा गीतहरु राखेर एल्वम निकाल्ने र एल्वम विक्रीबाट उठेको रकमको केही प्रतिशत रोयल्टी दिने प्रस्ताव आयो मैले प्रस्ताव स्वीकृत गरें । तर ३ वर्ष पछि जाँदा जम्मा ४२ रुपैयाँ देखाए मैले त्यो रकम पनि त्यही बुझाएर आए ।

 पछिल्लो समयका लोकसंगीतमा के कस्ता फरक पनको महशुस गर्नुहुन्छ ?
मौलिक भाका , ठेट शव्द र स्थानीयताको सुगन्ध नेपाली लोकगीतको  पहिचान पहिचान हो । पछिल्लो समय व्यवसायिकरणको हावाले लोकगीतको मौलिकता उडाउँदै लगेको भान हुन्छ । अहिलेका लोकगीत सुन्दा यो कहाँको कुन भाका भनेर पहिचान  गर्न सकिंदैन ।

 अन्त्यमा केही छ की ?
–सरकारले कलाकारलाई राष्ट्रको गहना भन्ने मात्रै गरेको छ , कुनै किसिमका सहयोग गरेको छैन । नेपाली राष्ट्रिय गीतका संगीतकार अम्मर गुरुङलाई मासिक रुपकामा रु ३० हजार दिने निर्णय एकदमै उदारणीय छ । लामो समय नेपाली गीत संगीतमा लागेर यसको विकास र प्रबन्धन गर्ने सबैलाई यस किसिमको सहयोग प्रदान गर्नु जरुरी छ । र कलाकार पनि केही समय यता देशको भन्दा पनि पार्टीको बन्दै गएका छन् ,यो गलत हो ।
प्रस्तुति ः किशोर श्रेष्ठ

 

प्रतिक्रिया दिनुहोस्