Logo

दाङमा सर्पको टोकाइबाट चार दिनमा दुई जनाको मृत्यु



दाङ, ८ साउन । दाङमा सर्पको टोकाइबाट १६ वर्षीय किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सल्यान बागचौर नगरपालिका-४ पेदीखोला घर भई हाल शान्तिनगर गाउँपालिका-७ मामाघर बस्दै आएका मनोज वली रहेका छन् ।

गए राति १ बजेतिर सर्पले टोक्दा गम्भीर बिरामी भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । उनका अनुसार वलीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि प्रतिष्ठानमा लगिएको थियो ।

त्यस्तै गत शुक्रबार शान्तिनगर-३ बस्तीखोलाका ५० वर्षीय दलबहादुर घर्तीको सर्पको टोकाइबाट मृत्यु भएको थियो । शुक्रबार दिउँसो घर्तीलाई घरभित्रै सर्पले टोकेपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल लगिएकामा उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

सर्पदंशबाट पछिल्लो चार दिनमा दुईको मृत्यु भएकाले आवश्यक सर्तकता अपनाउनुपर्ने प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्