Logo

उन्नाइस घण्टापछि मेची राजमार्गमा यातायात सुचारु



ताप्लेजुङ, १२ साउन । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्सेखोला नजिक वैशाखे भीरमा खसेको सुख्खा पहिरोका अवरुद्ध बनेको मेची राजमार्ग उन्नाइस घण्टापछि खुलेको छ । सुख्खा पहिरो खसेर बिहीबार बिहानको राति २ बजेदेखि अवरुद्ध बनेको मेची राजमार्ग राति ९ बजेपछि खुलेसँगै यातायात सुचारु भएको हो ।

मेची राजमार्गअन्तर्गत ताप्लेजुङको दोखु–नाङ्खोल्याङ सडकखण्डस्थित खोक्से नजिक वैशाखे भीरमा माथिबाट ठूल–ठुला चट्टानसहित खसेको पहिरोले सडक अवरुद्ध बनेको थियो । सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीका अनुसार करिब ३० मिटर दूरीभित्र पुरै सडक ढाक्ने गरी खसेको पहिरोले बिहीबार एक दिन पुरै मेची राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको हो ।

पहिरो खसेर राजमार्ग अवरुद्ध बनेपछि बिहान सबेरैदेखि पहिरो हटाउने कार्यमा निरन्तर जुटेसँगै राति ९ बजेसम्ममा अवरुद्ध पन्छाउन सफल भएको सुपरभाइजर उप्रेतीले बताए । उनका अनुसार पहिरो पन्छाएर सडक खुलेसँगै दिनभर रोकिएका सवारी साधन आ–आफ्नो गन्तव्यतिर लागेका थिए । ताप्लेजुङ भित्रने सवारी साधन सदरमुकाम फुङ्लिङतर्फ प्रवेश गरेका छन् भने यहाँबाट बाहिरिने यातायातका साधनहरू गन्तव्यतिर लागेका थिए ।

सडक अवरुद्ध भएका कारण जिल्लाकै पूर्वी क्षेत्र सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकाका लागि छुटेका सवारी साधन र जिल्ला बाहिर चल्ने लामो दूरीका सवारी साधन खोक्से क्षेत्रमै दिनभर रोकिएका थिए । पहिरोले सवारी आवागमन ठप्प भएर दिनभर बिच बाटोमै रोकिनुपर्दा गन्तव्यमा पुग्न नपाएका यात्रुहरू बिजोग भएका थिए । यात्रुहरूले सडक खुल्ने आशामा दिनभर पहिरो खसेकै क्षेत्रमा रहनुपरेको थियो ।

यता गए राति अबेर राजमार्गको अवरुद्ध खुलेसँगै शुक्रवार भने बिहानैदेखि ताप्लेजुङ सदरमुकामबाट सवारी साधनहरू छुटेका छन् । जिल्लाभित्र आन्तरिक यातायात तथा जिल्ला बाहिर पाँचथर, इलाम झापा, सुनसरी धरान हुँदै राजधानी काठमाडौँ सम्मका लामो दुरीका सवारी साधनहरू बिहान ४ बजेदेखि नै छुटेका फुङ्लिङका जिप काउन्टर सञ्चालक भीषण लिम्बूले बताए ।

पहिरो खसेर अवरुद्ध बनेको सडक खुलाउनका लागि सडक डिभिजन कार्यालय इलामको मेशिन दुई र फुङ्लिङ नगरपालिकाको जेसीभीसहित तीन वटा उपकरण प्रयोग गरिएको थियो । ठुला चट्टानसहित पहिरो खसेका कारण अवरुद्ध हटाउनलाई लामो समय लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्