Logo

आन्दाेलनरत शिक्षकसँग वार्ता गरेर तत्काल विद्यालय खाेल्ने वातावरण बनाउन एमालेकाे माग



काठमाडौँ, ४ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आन्दोलनरत शिक्षकहरूकाे जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

एमाले संसदीय दलका सचेतक महेश बर्तौला नेतृत्वको टोलीले आज बिहीवार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई ज्ञापनपत्र बुझाउँदै शिक्षक महासङ्घका पदाधिकारीसँग वार्ता गरी समस्याको निकास निकाल्दै तत्काल विद्यालय खोल्ने वातावरण बनाउन आग्रह गरेको हो । सचेतक बर्तौलाले तत्काल विद्यालय खोल्ने वातावरण बनाउन शिक्षामन्त्रीसमक्ष आग्रह गरेको बताए ।

बर्ताैलाले आन्दोलनरत शिक्षक महासङ्घका पदाधिकारीसँग वार्ता गरेर विद्यालय खोल्ने वातावरणको सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको जानकारी दिए । सरकारले छिटो भन्दा छिटो आन्दोलनरत शिक्षकसँग वार्ता गर्न र समस्याको निकास खोज्नुपर्ने उनकाे भनाइ छ ।

उनले भने, ‘शिक्षक महासङ्घले गरेको आन्दोलनबारे एमाले संसदीय दलको तर्फबाट शिक्षामन्त्रीसँग केही विषय राख्यौँ । विद्यालयहरू बन्द भएको अवस्था छ, तत्काल विद्यालय खोल्ने वातावरण बनाउन आग्रह गरेका छाैँ । शिक्षकहरूका कतिपय जायज मागहरूलाई अविलम्ब सम्बोधन गर्नका लागि र विधेयकको अङ्ग बनाएर अगाडि बढ्नका लागि सरकारलाई औपचारिक आग्रह गर्‍याैँ ।’

प्रतिक्रिया दिनुहोस्