Logo

मैले सर्प पालेकाे छैन: झलनाथ खनाल



काठमाडौँ, १० असोज । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सर्प प्रकरणमा आफ्नो नाम मुछेर आलोचना गर्ने गरेको भन्दै आपत्ति जनाएका छन् ।

बुधबार काठमाडौँमा आयोजित नेपाल सर्ट फिल्म अवार्ड २०२३ लाई सम्बोधन गर्दै उनले आफू सर्लाही जाँदा सर्पको टोकाइका कारण मृत्युवरण गर्नु परेको घटना देखेकाले सर्पदंशका बिरामीलाई देशमै उपचार हुनुपर्ने र औषधि बन्नुपर्ने माग सम्बोधन गर्नका लागि आवाज उठाएको बताएका हुन् ।

आफ्नो नाममा आफूले नचाहँदा नचाहँदै पनि नाम राखेको र त्यसबाट के-के गरे भन्नेबारे आफू अनविज्ञ रहेको उनले बताए । सर्प पाल्ने काममा आफ्नो कुनै लगानी नरहेको पनि उनले स्पष्ट पारेका छन् ।

पछिल्लो समय त्यसलाई विवादमा तान्ने काम भएको भन्दै उनले अख्तियारमा समेत उजुरी परेर छानबिनको विषय बनेको कुरा आफूले जानकारी पाएको बताए । नाम अर्कैले राखेको तर आफूलाई ७३ करोड भन्ने गरिएको भन्दै उनले सर्प पालनमा आफ्नो कुनै लगानी र पेशा व्यवसाय नभएको स्पष्ट पारेका हुन् ।

“७३ करोड पैसा ल्याएर झलनाथले सर्प पाल्दै छ भन्छन् । एकखाले मान्छेहरु कमेन्टमा सर्प लेखेर बस्छन्, तिनीहरुको पेशा नै त्यही जस्तो लाग्छ,” उनले भने, “त्यसमा मेरो न कुनै लगानी छ, न कुनै अरु पेशा व्यवसाय छ । मेरो विशुद्ध यो देशमै औषधि बनोस् भन्ने इच्छा हो, अहिले विवादग्रस्त भएछ । अख्तियारमा समेत पुगेछ । म सर्प पाल्दिन । भैँसी, बाख्रा पाल्न छोडेँ ।”

प्रतिक्रिया दिनुहोस्