Logo

पर्यटकीय क्षेत्र सुकेटारमा ‘सिसी क्यामेरा’ जडान



फुङ्लिङ,६ कात्तिक । ताप्लेजुङको फुङ्लिङ नगरपालिका-६ स्थित पर्यटकीय क्षेत्र सुकेटार बजारमा सिसी क्यामेराबाट निगरानी गरिने भएको छ ।

सुकेटार क्षेत्रको शान्ति सुरक्षा समेतलाई दृष्टिगत गरी सिसी क्यामेरा जडान गरिएसँगै सिसी क्यामेराबाट निगरानी हुन थालेको हो ।

फुङ्लिङ-६ को आर्थिक लगानीमा सुकेटार क्षेत्रमा पाँच सिसी क्यामेरा जडान गरिएको वडाध्यक्ष मदन गुरुङले जानकारी दिए ।

उनका अनुसार सुकेटार विमानस्थल र बजारक्षेत्रलाई निगरानी गर्न सिसी क्यामेरा जडान गरिएको छ । आवश्यकताअनुसार सिसी क्यामेरा थप गर्ने योजना रहेको उनको भनाइ छ ।

यस्तै, सुकेटारमा फोहरमैला बिसर्जन गर्न ३० डस्टविन (फोहर दानी) राखिएको पनि वडा कार्यालयले जनाएको छ । प्राय: आन्तरिक पर्यटकको चहलपहल भइरहने सुकेटार क्षेत्रमा पर्यटकीय मौसममा भने आन्तरिक तथा विदेशी पर्यटकको आगमनले निकै भीड हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्