Logo

भारतको उत्तराखण्डमा सुरुङमा फसेकाको उद्धार कार्यमा अवरोध



भारत, ३ मंसिर । भारतको उत्तराखण्डमा निर्माणाधीन सडक मार्गको सुरुङभित्र फसेका ४१ जना मजदुरको उद्धारमा अवरोध आएको छ ।

अघिल्लो आइतवार सुरुङको केही भाग भत्किएपछि भित्रै थुनिएकाहरुको उद्धारका लागि प्रयास भइरहेकोमा हिजोदेखि उद्धारकार्य रोकिएको बीबीसी हिन्दीले जनाएको छ ।

उद्धार कार्यका क्रममा जमिन भासिएर ठूलो मात्रामा ढुङ्गा र माटो निरन्तर खसेपछि र महत्त्वपूर्ण ड्रिलिङ मेशिनहरू बिग्रिएका कारण उद्धारको काम सुस्त भएको थियो ।

वरिष्ठ स्थानीय सरकारी कर्मचारी अभिषेक रुहेलाले फसेका व्यक्तिको सङ्ख्या ४१ जना रहेको जानकारी दिँदै उद्धार कार्य रोकिएको जानकारी गएका हुन् । उद्धारकर्ताहरूले रेडियोको प्रयोग गरेर फसेका व्यक्तिहरूसँग कुराकानी गरिरहेका छन् ।

सुरुङभित्र जोडिएको ६ इन्च चौडा पाइपबाट खाना, पानी, अक्सिजन र औषधि पठाइरहेको रुहेलाले जानकारी दिए । अब सुरुङको माथिबाट खन्ने वा के गर्ने भन्ने बारेमा छलफल भइरहेको उनले बताए । सुरुङ भित्र ७० मिटर क्षेत्रमा रहेको पहिरोमध्ये एक हप्तामा २४ मिटर मात्रै हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्