Logo

भारतमा १७ दिनदेखि सुरुङभित्र फसेका ४१ जना मजदुरलाई बाहिर निकालियो



भारत, १३ मङ्सिर । भारतको उत्तराखण्डमा एउटा निर्माणाधीन सुरुङमा १७ दिनदेखि थुनिएका सबै ४१ कामदारलाई जीवितै उद्धार गरेर बाहिर निकालिएको छ ।

सुरुङबाहिर हर्षोल्लासपूर्वक फूलमालाले उनीहरूलाई स्वागत गरिएको थियो । केही तस्बिरहरूमा उनीहरू भावविह्वल भएको पनि देखिएको थियो ।

पाङ्ग्राजडित स्ट्रेचरमा राखेर उनीहरूलाई तीन फिट चौडा पाइपबाट बाहिर निकालिएको थियो । उनीहरूमध्ये कोही पनि घाइते नभएको अधिकारीहरूले बताएका छन् । सुरुङबाट निकालेपछि सबै जनालाई परीक्षणका लागि अस्पताल लगिएको छ ।

सुरुङबाहिर ती कामदारका आफन्त, साथीहरू र स्थानीयवासी भेला भएका थिए । उनीहरूले आतिसबाजी गर्नुका साथै मिठाई पनि बाँडेका थिए । गत नोभेम्बर १२ मा पहिरोका कारण सुरुङको प्रवेशद्वारमा ढुङ्गा र माटो थुप्रिएपछि ती कामदारअरू सुरुङभित्रै थुनिएका थिए ।

सुरुङको प्रवेशद्वार बन्द भएलगत्तै उनीहरूसँग वाकीटकीमार्फत् सम्पर्क स्थापित भएको थियो । अर्को सानो पाइपबाट उनीहरूलाई अक्सिजन, खानेकुरा र पानी लगायतका अत्यावश्यक सामग्री सुरुङभित्र पठाइएको थियो । फसिरहेका ती मजदुरहरू उक्त भत्किएको सुरुङ निर्माणमा संलग्न थिए । उद्धारकार्य बारम्बार अवरुद्ध भएको थियो ।

उक्त सुरुङ भारत सरकारको चारधाम परियोजनाअन्तर्गत उत्तराखण्डको पहाडी भेगमा हिन्दू धर्मावलम्बीहरूका तीर्थस्थललाई जोड्न बनाउन थालिएको सडकको अङ्ग हो ।

प्रतिक्रिया दिनुहोस्