Logo

वैदेशिक रोजगारीका लागि एकहत्तर नर्स अन्तर्वार्तामा छनोट



काठमाडौँ, १५ मङ्सिर । वैदेशिक रोजगारीका लागि बेलायत जान ७१ नर्स अन्तर्वार्ताका लागि छनोट भएका छन् । वैदेशिक रोजगार विभागले ७१ जनाको नाम सार्वजनिक गर्दै अन्तर्वार्ताका लागि बोलाएको हो ।

बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई पदस्थापन गर्ने गरी नेपाल र बेलायत सरकारका प्रतिनिधिबिच २०७९ भदौ ६ गते सम्झौता सम्पन्न भएको थियो । वैदेशिक रोजगार विभागले गएको साउन ५ देखि तीन महिनाको समयावधि तोकेर एक सय जना नर्सका लागि अनलाइन आवेदन आह्वान गरेको थियो । तीनमहिने अवधि राखेर आह्वान गरिएको आवेदनमा सात सय बढीको आवेदन परेकामा दुुई देशका प्रतिनिधिले तयार गरेको प्रोटोकल अनुसार ७५ जना मात्रै छनोट भएका हुन् । जसमा चार जना अनुपस्थित रहेकाले अन्तर्वार्तामा ७१ जना मात्रै सहभागी हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।

स्वास्थ्यकर्मीको छनोट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रियाबमोजिम गरिएको हो । नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवा ९एनएचएस० मा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाउने सहमति भएको छ ।

नेपाल र बेलायत सरकारबिच भएको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना (इम्प्लिमेन्टेसन प्रोटोकल) दुई देशका सरकारले पारित भएसँगै बेलायतमा नेपाली नर्सका लागि आवेदन खुलाइएको थियो । प्रोटोकल अनुसार मागभन्दा कम नर्स मात्रै छनोटमा परेका छन् । अनलाइन आवेदन दिएर तोकेको मापदण्ड पूरा गरेकाको बेलायत स्वास्थ्य विभागले प्रारम्भिक सूची सार्वजनिक गरेको छ । छनोट भएका आवेदकलाई मङ्सिर १८ देखि २१ गते (डिसेम्बर ४ देखि ७) सम्म अन्तर्वार्ताका लागि लैनचौरस्थित बेलायती दूतावासमा बोलाइएको छ ।

विभागका निर्देशक एवं प्रवक्ता कविराज उप्रेतीले आइइएलटिएसमा न्यूनतम सात अङ्क ल्याउनुपर्ने र दुई वर्षको कार्यानुभव भएको हुनुपर्नेलगायतका मापदण्ड प्रोटोकलमा तोकिएकाले यस पटक आवेदकमध्ये थोरै सङ्ख्या मात्रै छनोटमा परेको जानकारी दिनुभयो । उहाँका अनुसार आवेदन आएकामध्ये कम छनोट पर्नुमा पुरानामा भाषागत समस्या र नयाँमा कार्यानुभव कम भएको पाइयो ।

नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र बेलायतका तर्फबाट युके डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसियल केयरले नेपाली नर्सलाई बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा भर्ना सुरु गरेको हो । नेपाली नर्सको भर्ना प्रक्रियालाई स्वच्छ र प्रतिस्पर्धी बनाउनका लागि प्रोटोकल अनुसार छनोट गरिएको र प्रोटोकल पूरा गर्ने आवेदक थोरै भएको विभागका प्रवक्ता कविराज उप्रेतीले जानकारी दिनुुभयो । पहिलो पटक धेरै विषयमा अन्योल भएकाले पनि थोरै छनोट भएको र आउँदा वर्षहरूमा यस्तो अवस्था नआउने विश्वास पनि व्यक्त गर्नुभयो ।

प्रोटोकल अनुसार बेलायत जान चाहनेले कम्तीमा तीन वर्षको नर्सिङ कोर्स पिसिएल नर्सिङ वा बिएनसरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने छ भने आइइएलटिएसमा न्यूनतम सात अङ्क अनिवार्य रूपमा ल्याउनुपर्ने सर्त तोकिएको छ । त्यसै गरी दुई वर्षको कार्य अनुभव (वर्किङ एक्सपेरियन्स) पनि प्रोटोकलमा अनिवार्य गरिएको छ । प्रोटोकलले तोकेको योग्यता पूरा गरेकामध्ये सङ्क्षित सूची तयार (सर्ट लिस्टिङ) परेका ७१ जनाले अब अन्तर्वार्ता उत्तीर्ण गरेपछि बेलायत जान पाउने छन् ।

दुई देशबिच भएको श्रम सम्झौता अनुसार नेपाल र बेलायतबिच परीक्षणका रूपमा प्रथम चरणमा नेपाली नर्सलाई बेलायतमा पदस्थापना गर्ने कार्यलाई ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ बारे स्पष्ट व्यवस्था गर्ने सहमति भएको थियो । सोही प्रोटोकलले तोकेको व्यवस्था अनुरूप योग्य ठहरिएका ७१ जना नर्सले अन्तर्वार्ता उत्तीर्ण गरेपछि बेलायतमा रोजगारीका लागि अवसर पाउने छन् ।

नेपाल नर्सिङ परिषद्को तथ्याङ्‍क अनुसार हालसम्म नेपालमा करिब ७४ हजार नर्सले सेवाका लागि अनुमति (लाइसेन्स) लिएकामा करिब ४५ हजार नर्सिङ जनशक्ति मात्र सक्रिय भएको तथ्याङ्‍क छ । तीमध्ये नेपाल सरकार अन्तर्गत स्थायी र करारमा १८ हजार नर्स कार्यरत छन् ।

नेपाल र बेलायत सरकारका प्रतिनिधिबिच २०७९ भदौ ६ गते बेलायतमा नेपाली नर्सलाई रोजगारी दिने गरी श्रम समझदारीमा हस्ताक्षर सम्पन्न भएको थियो । नेपालका तर्फबाट तत्कालीन श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबिच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको थियो ।

वैदेशिक रोजगारका लागि सरकारी–सरकारी ९जिटुजी० संयन्त्रमार्फत शून्य लागतमा नेपाली वैदेशिक रोजगारीमा पठाउन थालिएको पहिलो पटक हो । यस्तै नेपालको स्वास्थ्य क्षेत्रको सुदृढीकरण र आधुनिकीकरणमा सहयोग जारी रहने कुरा पनि समझदारीपत्रमा उल्लेख छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्