Logo

शब्द श्रद्धाञ्जली शहिद रमेश सुवेदीप्रति



 
 
डण्डिराज घिमिरे ‘विवेक’
                                                             शरीरमा एक थोपा रगत रहेसम्म
                                                                 वर्गीय क्रान्तिमा समर्पित
                                                              हामी क्रान्तिकारी विद्यार्थीहरु
                                                     हामी मुक्ति योद्धाहरु– शहिद रमेश सुवेदी
प्रस्तुत कवितांश युग चेतना बोकेका एक झापाली सशक्त यूवा नेता शहिद रमेशका हुन् । विहानी साहित्य समाज गौरादहद्वारा २०५९ सालमा प्रकाशित र स्वयं उहाँद्वारा रचित तथा सम्पादित ‘बिहानी! को दोस्रो कविता संग्रह भित्रको “मुक्ति योद्धा” कविताका भावहरु आज यथार्थमा परिणत छन् । आमूल परिवर्तनको पक्षमा राष्ट्रभक्ति र वर्ग मुक्तिको मात्रामा समाहित तमाम नेपाली यूवाहरुको प्रेरणाको इन्धन रुपमा आज हामी झापावासी उहाँलाई स्मरण गर्दछौं ।
आजभन्दा ठीक १० वर्ष अघि २०६१ मंसिर ६ गते आजकै दिन तत्कालिन शासन व्यवस्थाको शाहीसेनाद्वारा उहाँको हत्या गरिएको थियो । २०५२ सालबाट शुरु भएको दिर्घकालिन जनयुद्धको पक्षमा २०५७ सालदेखि पूर्णकालिन कार्यकर्ता भएर विद्यार्थी राजनीतिमा सम्लग्न शहिद रमेश सुवेदीको हत्या हुँदा उहाँ अनेरास्ववियू क्रान्तिकारीको झापा जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । नयाँ नेपाल निर्माणको स्वर्णीम सपना सजाएर गणतन्त्रको पक्षमा वर्ग संघर्ष लडिरहँदा उहाँको हत्या गर्ने गणतन्त्र विरोधीहरुलाई आज समयले उहाँहरु जस्ता रक्तविजहरुको रगतको तागतले देशमा गणतन्त्र मान्न बाध्य बनाएको छ । तत्कालिन फाशिष्ट शहिसत्तासँग आत्मसमर्पण नगरी संसार बदल्ने सगरमाथा जत्रो लक्ष्य राख्नु भएका स्व.सुवेदीको भौतिक शरीर हामी विच नभए पनि परिवर्तनका खातिर हाँसीहाँसी बलिदानी भएर देशभक्ति, विरता र त्यागको गौरवमय स्वर्णीम इतिहासमा उहाँ अम्मर हुनुहुन्छ । 
वि.सं. २०३७ साल जेठ १४ गते वुवा गँगाराम र आमा देवीमाया सुवेदीको कोखलाई सफल पार्दै जेष्ठ पुत्र रत्नको रुपमा यस धर्तीमा पदार्पण हुनुभएका सहिद सुवेदीको माध्यमिक तह सम्मको अध्ययन श्री नरेन्द्र जनता उच्च मा.वि. तोपगाछीबाट पुरा भएको थियो । तोपगाछी–९ सरङवाडाका स्थायी बासिन्दा भएकाले घर छेउकै विद्यालयबाट माध्यमिक तहसम्मको अध्ययन पूरागरेपछि उहाँ कलेज पढ्न मेची क्याम्पस भद्रपुर पुग्नुभयो । आइ.ए. प्रथम वर्षमा अध्ययन गर्दैगर्दा विदामा घर आएको समयमा सर्वप्रथम २०५६ सालमा उहाँको गिरफ्तारी भयो । २०५६ सालमा तत्कालिन नेकपा माओवादीले गौरादह बजारको नेपाल वैक लिमिटेड रेड गर्ने असफल प्रयास गरेको थियो । वैकको गार्डबाट हतियार लुटेपछि भाग्ने क्रममा माओवादीका जनमिलेसियाहरु शहिद सुवेदीको घर अगाडिको बाटो हुँदै जाँदा उहाँको घर छेउको लाफादी खोला झ्यासमा वैकबाट लुटेको हतियार फेला परेपछि नजिक घर भएको कारण उहाँलाई प्रहरीले गिरफ्तार गरेको थियो । विना प्रमाण एक निर्दोष युवालाई गिरफ्तारी गरी १५ दिनसम्म चरम यातना दिएर चन्द्रगढी हिरासतमा राखियो । अन्तत निर्दोष उहाँलाई रिहा गर्न बाध्य भयो प्रशासन । यसरी सुरु भएको थियो शहिद रमेश सुवेदीको राजनीतिक जीवन ।
चरम यातनाको पिडा भित्र विद्रोहको र बदलाको सगरमाथा बोकेर मेची क्याम्पसको अध्ययन छोडेर पुन ः आइ.ए. प्रथम वर्षमा गौरादह बहुमुखी क्याम्पसमा भर्ना भई पढाइलाई अघि बढाउँदै विद्यार्थी राजनीतिमा सम्लग्न हुनु भयो उहाँ । स्व.सुवेदी साहित्यमा रुची राख्ने र लेख्ने प्रकाशन गर्न रचाउनु हुन्थ्यो । विहानी साहित्य समाज गौरादहको संस्थापक कार्यसमिति सदस्य तथा विहानी कविता संग्रहको सम्पादकको समेत भूमिका निर्वाह गर्नुभएको थियो । गीत, संगीत, साहित्य मार्फत पनि समाज रुपान्तरणमा न्याय समानता र वर्गमुक्तिमा आफूलाई समाहित गर्नुपर्छ र नीजि जीवनभन्दा समाज र राष्ट्रका लागि बाँच्नु पर्छ भन्ने उहाँको उच्च विचार क्याम्पसका विभिन्न कार्यक्रममा अभिव्यक्त हुने गर्थे स्मरण गर्नुहुन्छ क्याम्पसका प्राध्यापक शेरबहादुर कार्की ।
गौरादह क्याम्पसमा अध्ययन गर्दा सरल, हसिलो, मिजासिलो, मिलनसार, निडर उहाँको स्वभावका कारण सबै विद्यार्थीको माझमा र गुरुहरुको माझमा उहाँ लोकप्रिय हुनुहुन्थ्यो । २०५७ साल चैत्र ५ गते भएको गौरादह बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियू क्रान्तिकारीको तर्फबाट स्ववियू उपसभापतिमा भारी मतले विजयी हुनुभएको थियो । शहिद सुवेदीको कुशल नेतृत्वको परिणाम स्वरुप उक्त निर्वाचनमा अनेरास्ववियू क्रान्तिकारी  प्यानलनै विजयी समेत भयो । उहाँ सोही समयदेखि नै नेकपा माओवादीको पूर्णकालिन कार्यकर्ता हुनुहुन्थ्यो । त्यसपछि उहाँको काँधमा थप जिम्मेवारीहरु बढ्दै गए भने लोकप्रीयतापनि बढ्दै गयो । २०५८ साल मंसिर ११ गतेबाट तत्कालिन सरकारले देशमा संकटकालको घोषणा गरेपछि र अनेरास्ववियू क्रान्तिकारीलाई प्रतिवन्ध लगाएपछि उहाँको भूमिगत जीवन सुरु हुन्छ । 
२०५९ सालको अनेरास्ववियू क्रान्तिीकारीको झापा जिल्ला अधिवेशनले शहिद सुवेदीलाई जिल्ला अध्यक्षको गहन जिम्मेवारी सुम्पियो । रमेश सुवेदी यहासम्म आइपुग्दा ज्यादै लोकप्रिय विद्यार्थी नेताको रुपमा देश भरि नै स्थापित नाम बन्न पुग्यो । दिर्घकालिन जनयुद्धको मर्म भावना र उद्देश्यलाई सफल पार्ने महान दिशामा आफू स्वयं वर्तन बनेर उज्यालो छर्ने उहाँको निरन्तर अविराम उच्च चेतनाको यात्रालाई भौतिक रुपमा तत्कालिन फासिष्ट राज्यसत्ताले सिध्याएपनि उहाँहरुजस्ता नेपाली सपुतको बलीदानीले त्यो यात्रा निरन्तर जारि छ । लाखौ युवा नेपाली राजनीतिमा आसाको किरण बनेर देखिएका छन् । देशले मागेको बखत शहिद रमेश सुवेदी जस्तै राष्ट्रको लागि बलिदानी हुन तमाम युवा जगत तयार हुनु अवको  आवश्यकता हो र त्यो प्रेरणा आजको दिनबाट प्राप्त होस् । हार्दिक श्रद्धाञ्जली शहिद रमेश सुवेदी । यहाँहरुको रगतले खनिएको परिवर्तनको गोरेटो अझ फराकिलो बनोस सबैलाई सतवुद्धि आओस नयाँ नेपाल निर्माण होस् । 
 

प्रतिक्रिया दिनुहोस्