Logo

नारी स्वतन्त्रता खोज्दै ‘घरहरु भत्किरहेछन्’ उपन्यास



द्रोण अधिकारी गुयेली
वि सं २००२ साल मङ्सीर २९ गते साँगादिन ताप्लेजुङ्मा जन्मिएका नकुलकाजी नेपाली साहित्य लेखनमा वि सं २०१९ सालमा यौवन तृष्णा कविता संग्रह मार्फत देखा परेका साहित्यिक सर्जक हुन् । पेशाले पत्रकार रहेका काजी विज्ञान विषयमा स्नातक भए पनि नेपाली भाषा साहित्यको उत्थानमा जीवनको उत्तराद्र्द चरणमा पनि उत्तिकै सक्रियताका साथ लागि रहेका छन् । २०१९ को यौवन तृष्णादेखि २०६९ सालको गणतन्त्र र गौंथलीको बाऊ (निबन्ध संग्रह) सम्म आइपुग्दा काजीले डेढ दर्जन पुस्तककार कृति नेपाली साहित्यलाई उपहार दिइ सकेका छन् । काजीका हालसम्म प्रकाशित कृतिहरुको सूचिलाई हेर्ने हो भने यौवन तृष्णा (कविता संग्रह २०१९  ) जीवन प्रश्न (कथा संग्रह) , मुना (खण्काव्य २०२०) सागर (उपन्यास २०३५),समस्या (उपन्यास २०२५), शान्ति, (उपन्यास २०३६), गौरी (उपन्यास २०२७), विद्रोह बोल्छ (खण्डकाव्य २०३७), मेरो देशको कविता (कविता संग्रह २०३६), सगरमाथाको शान्ति सन्देश (२०३१),  युद्धको दुव्र्यसन (कविता संग्रह २०६६) क्रान्तिको पहिलो चरण (उपन्यास २०६८) र गणतन्त्र, गौंथलीको बाऊ ( निबन्ध संग्रह २०६९) र घरहरु भत्किरहेछन् (उपन्यास २०७१) जस्ता गहकिला कृति नेपाली साहित्य जगतमा आइसकेका छन् ।

   वि.सं २०२२ सालमा भारतको दार्जीलिङबाट पुष्प–पल्लव साहित्यिक पत्रिका मार्फत पत्रकारिता आरम्भ गरेका काजीले एक दर्जन साहित्यक तथा अखवारीय पत्रपत्रिकाको सम्पादन प्रकाशन गरी सकेका छन् । पछिल्ला केही वर्ष यता व्यवसायिक पत्रकारिताबाट अलग्गिएर विशुद्ध साहित्य एवम् धर्म संँस्कृति अध्ययन अनुसन्धानमा रहेका काजी वि.सं २०२७ सालदेखि झापा जिल्लामा व्यवसायिक पत्रकारिता शुरु गरेर महा—विद्यालयका रुपमा रहन पुगे । स्तरीय भाषा , चोटिलो व्यङ्ग्य, समसामयिक विकृति विसंगतिप्रति प्रहार गर्न खप्पिस काजी राष्ट्रवादी स्वर उराल्ने शसक्त सर्जकका रुपमा आफूलाई दर्याउन सफल स्रष्टा हुन् ।

पछिल्लो समय पूर्वी तराइको सन्थाल समुदायमा आधारित प्रगतिशील आञ्चालिक परिवेशको उपन्यास लेखेर चर्चा बटुलेका काजीको क्रान्तिको पहिलो चरण एकचालीस वर्षको अन्तरालमा नेपाली साहित्यमा विशुद्ध नेपाली माटो , जाति सँस्कृति र पेशाको आख्यानलाई समेटिएको उपन्यास पनि हो । यो उपन्यास प्रकाशनको एक वर्ष नवित्दै आएको अर्को नयाँ कृति र्हो गणतन्त्र र गौंथलीको बाऊ’ हास्य व्यंग्य निबन्ध संग्रह । दुई वर्षको अन्तरालपछि काजीको नयाँ कृतिका रुपमा आख्यानात्मक कृति उपन्यास ‘घरहरु भत्किरहेछन्’ वजारमा आएको छ । नेपालमा टड्कारो समस्याका रुपमा देखिएको वैदेशिक रोजगारमा नेपाली युवाहरु पर निर्भरताले गर्दा भित्रिएको यौन जन्य विकृति  ‘घरहरु भत्किरहेछन्’ भित्रको प्रमुख आख्यान बुन्ने कथानक हो ।

बहुपात्र रहेको यस उपन्यासले नारीवादलाई प्रत्यक्ष अप्रत्यक्ष झुर्के कथानक मार्फत उठाएको छ । श्रीमानहरु  बाध्यता र विवशताको भूमरीमा परेर परदेश लागेपछि एक्लिएका जवान श्रीमतीहरु लामोसमयसम्म जैविक आवश्यकता यौन तृष्ण मेट्नलाई विकृत स्वरुपमा भए पनि परपुरुषको शरणमा पर्ने गरेको जल्दोवल्दो समस्या यस उपन्यासको प्रमुख विषय हो । उपन्यासले आञ्चलिकताको रौनक दिँदै विशेषगरी झापाको अधिकाम्स भूमिलाई चित्रण गरेको छ । पूर्वाञ्चलका अन्य जिल्लाहरुमा पनि उपन्यासका पात्र र घटनाहरु डौडिएको यस उपन्यासले मध्य एसियाका खाडी मुलुकहरु, पूर्वी एसियाको भूगोल लगायतलाई समेत समेटेको पाइन्छ ।

शीर्षक आफैले पनि पुष्टि गर्न खोजिरहेको ‘घरहरु भत्किरहेछन्’ विषय वस्तुले राष्ट्रमा आवश्यक रोजगारी र अवसरहरु नहुँदा पलायन भएका युवाहरुले राष्ट्रियता विर्सने अवस्था आएकोमा चिन्ता स्वरुप नारी अस्मितालाई विकृत स्वरुपमा उठाउन खोजेको भान पाठकले गर्ने छन् । यस उपन्यासमा मीरा, निर्मला, अनुसा, द्रौपदी, राखी, रीचा, रुपा, रीता, बिमला, सीमा, कल्पना, रेशम जस्ता नारीहरु यौन तृष्णा मेट्न परम्परागत नेपाली समाज भन्दा फरक शैली वा विकृत स्वरुपमा कथानक बनिएर आएका छन् । छोटा छोटा घटनाहरु आख्यान जेलिएर समग्र उपन्यास बनिएको ‘घरहरु भत्किरहेछन्’ भित्र नारी यौन कुण्ठा मूल विषय बस्तु हो । वर्षौं पतिको वियोग र प्रतीक्षा गरेर आँत चहर्याइ रहेका यी नारी पात्रहरुले अन्ततः परपुरुषको शरणमा परेर यौन तीर्खा मेट्नु पर्ने विडम्वना वैदेशिक रोजगारले सिर्जना गरेको समस्या भएको उपन्यास भित्रको आख्यानको मूल शन्देश हो ।

गरीबी र अभावको पहाडले थिचेका जवान युवाहरु विहे गरेर घरमा एक्लै श्रीमती छोडी पैसाकमाउन परदेशको चाकडीमा वर्षौं हराए पछि तीनका उमेर मत्त जवानी छचल्केका श्रीमतीहरुलाई उपयोग गर्न शहरका हरिमुठे कमल्दार तथा गाउँका चंखेचतुरे जिउ ज्यान दिएर लागेको वास्तविक नेपाली समाजको कथा ‘घरहरु भत्किरहेछन्’ भित्रको मुख्य आवाज हो । पूर्वीय दर्शन भित्र शास्त्रीय संस्कारको वोलवाला रहीरहेको नेपाली समाज भित्र पाश्चात्य शैलीको यौन स्वच्छन्दता भित्रनुको मूलकारण वैदेशिक रोजगारी रहेको ठहर गरिएको यस उपन्यासले आधुनिकताका नाममा विकृत यौन व्यवहार पसेको किटान गर्न खोजेको स्पष्ट देखिन्छ ।

शिक्षा चेतना स्तर न्युन रहेका तर उन्मत्त बैँस भरिएर अत्याधुनिक भएका नारी पात्र औषत नेपाली समाजमाथि उठ्न संँगठित भए जस्तो भान उपन्यासका पाठकले पाउने छन् । वर्तमान नेपाली समाजको वास्तविकता तर भन्न बोल्न नसकिरहेको सत्यतालाई आख्यान बनाउने जमर्को गरेका काजीले जैविक आवश्यकता यौन चाहना र पूर्तिको शैलीलाई छताछुल्ल पारिदिएका छन् । गरीबीबाट माथि उठेर मध्यम स्तरीर औषत जीवन शैलीमा प्रवेश गरेको विप्रेषणले भरित–पोषित परिवारका एक्ला नारीहरु आफ्ना आवश्यकता पूर्तिका लागि अल्लारिएका बेला चतुर चंखेहरु तन र धन दुवैको लुट मच्चाउने गरेको शब्द दृष्य पाठकले उपन्यास पठनका क्रममा सहज प्राप्ति गर्नेछन् । यो लेखकीय सफलता हो । जसले पाठकलाई पनि कुनै न कुनै घटनामा आफू त परिन भन्ने प्रश्न उठाउन बाध्य पार्ने छ । वर्तमान नेपाली समाज यसै गरी रुमल्लिएर हराइ रहेको छ ।

उपन्यासमा आएका पात्रहरुमा पुनम नै कथानक डोहोर्याएर हिड्ने प्रमुख पात्र जस्तो देखिन्छे । जसलाई उपन्यासकी नायिका पनि भन्न सकिन्छ । पुनमको पति भरत विदेसिएपछि यौन कुण्ठा पाल्न बाध्य भएकी छे । उसले नै नेपाली समाजको परम्परागत नारी पतिव्रतता तोडेर परपुरुष गमनको सुरुवात गरेको देखाइएको छ । हुन त अरु पनि थुप्रै नारी पात्रहरु छन् जसका समस्या पुनकै झैं हो । यहाँ पुरुष पात्र नायकका रुपमा देखिदैनन् तर उपन्यासका नारी पात्रको जैविक आवश्यकता पूर्ति गरिदिने स्त्री लम्पट कामदेव भएर उभिएका पुरुषहरु वर्तमान नेपाली समाजको यथार्थ ऐना भने बनिएर उभिएका छन् ।

उपन्यासमा प्रमुख खलनायकमा झा सर देखिएको छ । जो कुमारी केटीहरुलाई विभिन्न बाहना बनाएर यौन शोषण गरी हत्या समेत गर्ने नर पिसाचका रुपमा उपन्यास भित्र चित्रित छ । यो शिक्षाको नाममा कलंक बोक्ने पाखण्डीपनको नमुनाका रुपमा आएको हो । उपन्याले विकृतिका रुपमा सरकारी हाकिमहरु, व्यापारी साहुमाहजन, शिक्षक जस्ता राज्यका जिम्मेवार व्यक्ति नै मुख्य देखाएको छ । सरकार विदेशबाट भित्रिएको विप्रेषणको तर खाएर अल्मलिने तथापी देश र जनताको हालत के छ ? खै खवर नगर्ने अवस्थाले सिर्जना गरेको यौन विकृति नै नेपाली राष्ट्रियता तहसनहस पार्ने वास्तविकता नै ‘घरहरु भत्किरहेछन्’ को चित्रण हो ।

उपन्यास भित्र रोजगारी र अवसरको खोजी गर्दै पछिल्ला केही वर्ष यता नेपाली युवतीहरु पनि वैदेशिक रोजगारमा जाने गरेको यथार्थ घटना आख्यानका रुपमा जोडिएर आएको छ । विशेष गरी गरीबी र अभावमा पिरोल्लिएका ग्रामिण युवतीहरु खाडी मुलुकमा बेचिने गरेको तीतो यथार्थ काजीले आख्यानमा जोडेका छन् । अवैध बाटो हुँदै खाडी मुलुक पुर्याइने गरेका नेपाली चेलीहरु देहव्यापारमा लगाइएर विदेशीको मनोरञ्जनका साधन बनिरहेको बास्तविकता समेत उपन्यासले उठान गरेको छ । कुमारी आमाहरु वा अकालमा ज्यान अर्पण गर्नु पर्ने नेपाली चेलीको कारुणिक कथा पनि सांकेतिक रुपमा उपन्यासले समेटेको छ ।

नेपालको संक्रमणकालीन राजनीतिको दुष्प्रभाव देश र जनताले भोगिरहेको ठहर उपन्यासमा काजीले यसरी गरेका छन् –‘परदेशमा झुल्किने घाम र जूनका किरणहरुले पृथ्वी उज्याल्दा आँखा अगाडि जे देखिन्छ, त्यसैलाई देश मान्नु पर्ने दुर्घाती समयबाट गुज्रिरहेछन् लगभग पैंसठी लाख नेपाली !’ यौन दुव्र्यसनदेखि चेलीबेटी बेचबिखनसम्म उपन्यासको टुक्रे कथा बनिएर जोडिएको आख्यान नेपाली राष्ट्रियताको बुलन्द आवाज पनि हो जसले यसरी राष्ट्रवादी आवाज उठान गरेको छ, – ‘आज एकातिर उर्जाशाली युवाहरु विदेश पलायन भई देश खाली हुँदै गइरहेको छ भने अर्कातिर समाजमा विकृति विसँगतिको जग बस्तै गएको छ ।’ यो वर्तमान नेपालको बास्तविक चित्र पनि हो ।

यौन जैविक आवश्यकता हो तर विकृतिको भण्डार होइन भन्ने शन्देश लिएर आएको यस उपन्यासको शीर्षक सार्थकता तुल्याउन काजीले राष्ट्रवादी स्वर उठान गर्दै स्वदेशी रोजगारको वातावरण तय नभएसम्म नेपालीपन ढल्ने क्रम नरोकिने ठहर उजाडिएका नेपालका घरवार मार्फत उजागर गरेका छन् । घर परिवारदेखि राज्यको उपल्लो निकायसम्म कमजोर हुनु भनेकै घरहरु भत्कनु हो भन्ने कुरा उपन्यासले वैदेशिक रोजगारसँग जोडिएर आएको यौन विचलन मार्फत चित्रण गर्न सफल भएको छ । यहाँ पैसाले भावना र जैविक चाहना पूरा गर्दैन बरु उल्टै विकृतिको जन्म दिन्छ ‘घरहरु भत्किरहेछन्’ को मूल शन्देसात्मक आवाज पनि यही बिटो बनेर कसिएको छ ।

नेपाली समाजमा नारी जगतलाई बन्धनमा राखिनु पर्दछ भन्ने परम्परागत मान्यतालाई चुनौति दिने नारी पात्रहरु प्रमुख रहेको यस उपन्यासमा आर्थिक स्वतन्त्रताबाट उत्पन्न नयाँ परिवेश समेत चित्रण भएको छ । ग्रामिण भूमि त्यागेर शहरिया परिवेश रोज्ने नारीहरु यौनको भोक आर्थिक सम्वृद्धिपछि परिपूर्तिमा सलल बगेको छ । ठेट नेपाली भाषा प्रयोग, वर्तमान नेपाली समाज चित्रण र नारी स्वतन्त्रताको खवरदारी चेतन अचेतन स्वरुपमा आवाज बनिएको छ । नेपाली माटो भित्रको बास्तविकता तस्वीरका रुपमा समेटिएको उपन्यास खोक्रिएको नेपाली भावना चित्रण गर्ने ऐना बन्न सफल छ ।
 

प्रतिक्रिया दिनुहोस्