Logo

आर्मीलाई हराउँदै पुलिसले जित्यो प्रधानमन्त्री कपको उपाधि



काठमाडौँ, २० माघ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको फाइनल खेलमा पुलिसले विभागीय प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हरायो । उपाधिसँगै पुलिसले १० लाख र उपविजेता आर्मीले पाँच लाख रुपियाँ पुरस्कार पाएको छ ।

पुलिस तेस्रो पटक च्याम्पियन बनेको हो । जितका लागि एक सय ८२ रनको लक्ष्य पछ्याएको पुलिसले ३७.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

पुलिसको जितमा शंकर रानाले अविजित ६२ रन बनाए । अर्जुन साउदले ३६, अमित श्रेष्ठले २८, आरिफ शेखले अविजित २७ र दीलिप नाथले २४ रन बनाए भने बलिङमा आर्मीका जितेन्द्र मुखिया, कुशल मल्ल, साहब आलम र बसिर अहमदले एक-एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मी ४९.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ८१ रन बनायो । आर्मीका लागि विवेक यादवले ६३ रन बनाए पनि टोलीको हार टरेन । यस्तै सोमपाल कामीले ३९, इमरान शेखले २८ र कुशल मल्लले १७ रन बनाएका हुन् ।

बलिङमा पुलिसका ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले तीन-तीन विकेट लिएका थिए भने सागर ढकाल, करण केसी र कुशल भुर्तेलले एक-एक विकेट लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्