Logo

एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालको लगातार दोस्रो जित



मलेसिया, २८ माघ । एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

मलेसियाको क्वालालम्पुरमा आज भएको खेलमा नेपालले भुटानलाई ८ विकेटले हरायो । जितका लागि भुटानले दिएको ६६ रनको सामान्य लक्ष्य नेपालले ११ ओभर ५ बलमा २ विकेट गुमाएर भेट्टाएको हो ।

नेपालका सीता राना मगरले अविजित ३२ र रुविना क्षेत्रीले अविजित १७ रन बनाइन । कविता कुँवर ५ र कप्तान इन्दु बर्मा १ रनमा आउट भइन । नेपालले ११ रन अतिरिक्त पाएको हो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ६५ रन बनाएको थियो । भुटानका नवाङ छोडेनले २५ रन जोडिन् । त्यस्तै छिरिङ जान्ग्मोले १६ र कप्तान डेचेन वाङ्गमोले १७ रन बनाइन ।

शनिबार भएको पहिलो खेलमा नेपालले हङकङलाई ८ विकेटले हराएको थियो । नेपालको २ खेलमा ४ अङ्क भएको छ । मंगलवार माल्दिभ्ससँग हुने खेल जितेमा नेपाल समूह विजेता बन्नेछ । समूहको शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । त्यस्तै फाइनलमा पुग्ने टोली महिला एसिया कपमा छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्