Logo

ग्रीसमा किसानद्वारा ट्रयाक्टरसहित प्रदर्शन



ग्रीस, ९ फागुन । ग्रीसमा हजारौँ किसानले विरोध प्रदर्शन गरेका छन् ।

एथेन्सको केन्द्रीय स्क्वायरमा भेला भएर उनीहरुले संसद् भवन अगाडि ट्रयाक्टर पार्किङ गरी विरोध गरेका हुन् । उनीहरुले उत्पादन लागत बढ्दा आफूहरु मर्कामा परेको गुनासो गरेका छन् ।

सरकारले किसानलाई सहायता दिनुपर्ने बेलामा उत्पादन लागत बढाएको किसानको गुनासो छ । उनीहरुले ‘किसान छैन, खानेकुरा छैन, भविष्य पनि छैन’ भन्ने नारा लगाएका थिए । बिजुलीको लागत ८४ प्रतिशतसम्मले बढेको, मलको मूल्य पनि चर्को भएको किसानको गुनासो छ ।

सरकारले प्राकृतिक प्रकोपबाट हुने क्षतिको तत्काल क्षतिपूर्ति, प्राथमिक क्षेत्रमा प्रयोग हुने बिजुली तथा इन्धनको न्यून मूल्य र करमा छुटलगायतले किसानको बोझ कम गर्ने उद्देश्यले प्याकेज कार्यक्रम घोषणा गरेको छ । तर किसानले खेतिलाई निरन्तरता दिन यी उपायहरू अपर्याप्त भएको बताउँदै आएका रोयटर्सले जनाएको छ ।

ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले युरोपेली संसद्का अध्यक्ष रोबर्टा मेत्सोलासँग भेट गरेर हालै फ्रान्सदेखि पोल्याण्ड र ग्रीससम्मका किसानहरूको प्रदर्शनलगायतका विभिन्न विषयमा छलफल समेत गरेका थिए । भारतमा पनि किसानहरुले आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्