Logo

नेपाल ‘ए’ पराजित, क्यानडाले जित्यो शृङ्खला



काठमाडौँ, १० फागुन । एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ क्यानडा-११ सँग चार विकेटले पराजित भएको छ । जितसँगै तीन खेलको उक्त शृङ्खला क्यानडा-११ ले २-१ ले जितेको हो ।

पहिलो खेलमा क्यानडाले नेपाललाई चार विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपालले क्यानडामाथि दुई विकेटको जित हासिल गरेको थियो ।

आज जितका लागि एक सय ८२ रनको लक्ष्य क्यानडा-११ ले २८ दशमलव पाँच ओभरमा छ विकेटको क्षतिमा पूरा गर्यो । क्यानडा-११ को जितमा निकोलस किर्तोनले ७७ बल खेल्दै छ चौकाको मद्दतमा सर्वाधिक ५८ रनको योगदान गरेका थिए ।

त्यसैगरी नवनित दलिवालले ३८, आरोजन जोनसनले ३६ तथा निखिल दत्तले १४ रन बनाए । नेपालका लागि साहब आलमले चार विकेट लिए भने शेर मल्ल र बसिर अहमदले समान एक-एक विकेट लिएका थिए ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४७ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनाएको थियो । नेपालका लागि आशुतोष घिरैयाले सर्वाधिक २८ रनको योगदान दिए ।

त्यसैगरी अर्जुन कुमालले २७ बनाउँदा बसिर अहमदले २५ तथा कप्तान सन्दीप जोराले २४ रन बनाए । सुजन थपलियाले २० तथा रासिद खान र प्रतिश जिसीले १९ रन बनाएका थिए ।

क्यानडाका लागि डिलोन हेलिगर, निकोलस कीर्तन र हर्ष ठेकरले समान दुई-दुई विकेट लिए भने कप्तान सादबिन जफर र कलिम सानाले समान एक-एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्