Logo

नेपाली चलचित्रको ‘सो’ मा सधैँ विवाद



काठमाडौँ, २८ फागुन । विदेशी चलचित्रसरह नेपाली चलचित्रलाई ‘सो’ नदिइएको भन्दै लेखक, निर्देशक तथा अभिनेता नवल खड्काले चलचित्र ‘काँडेतार’ हलबाट उतार्ने घोषणा गरेका छन् । निर्देशक खड्काले हलको अन्यायपूर्ण व्यवहारका कारण चलचित्र हलबाट उतार्नु परेको बताए । चलचित्र यही फागुन २५ गतेदेखि प्रदर्शनीमा आएको थियो ।

हल मालिकले देशभक्तिपूर्ण चलचित्रलाई पायक ‘सो’ नदिएको आरोप लगाउँदै आइतबारदेखि हलमा चलचित्र नचलाउने खड्काले बताए । गत वैशाख ११ गते सेन्सर पास गरेको र एक वर्षअघि नै चलचित्र प्रदर्शन मिति घोषणा गरिएको स्मरण गराउँदै चलचित्र प्रदर्शनको समयमा असफल बनाउन चौतर्फी देशीरविदेशी खुफिया र तिनका मतियार खलबलाएको उनले दाबी गरे ।

चलचित्र ‘सो’ मा प्राइम टाइम अति महत्वपूर्ण मानिन्छ । यही समयमा दर्शक चलचित्र हेर्न निस्कन्छन् तर यही समयमा नेपाली चलचित्रलाई हल मालिकले समय उपलब्ध नगराउने गरेको चलचित्रकर्मीको गुनासो रहेको छ । चलचित्र ‘उपहार’ का निर्देशक ज्ञानेन्द्र देउजाको भनाइ भने केही भिन्न छ । एकै पटक तीन वटा चलचित्र प्रदर्शन हुनु र त्यसमाथि हलिउड र बलिउड चलचित्र पनि थपिनाले यस्तो अवस्था आएको देउजाले बताए । सिङ्गल थिएटर हल हटेपछि मल्टिप्लेक्समा दर्शकको प्राथमिकतामा नेपालीभन्दा धेरै बलिउड र हलिउड नै हुने गरेको निर्देशक देउजाले बताए । हल मालिकले बलिउड र हलिउडको चलचित्र छानेर दिएपछि मात्र नेपालीको पालो आउने गरेको उनले गुनासो गरे ।

चलचित्र रङ्गेलीका निर्देशक अर्जुन सुवेदी पनि हल मालिकले दिएको ‘सो’ बाट खासै सन्तुष्ट देखिनु हुन्न । उनी भन्छन्, “भएभरका ‘सो’ नै बलिउड र हलिउड चलचित्रलाई दिएका छन् । यसमा कसरी सन्तुष्ट हुने हामी नेपाली चलचित्रसँग सम्बन्धित व्यक्तिले रु” हल मालिकले नै नेपालमा चलचित्र वितरण गर्ने गरेकाले यस्तो समस्या आएको उनले बताए । यसले हामी नयाँ निर्देशकलाई झन् चेपुवामा पार्ने काम गरेको छ । चलचित्र बाँडफाँटको विषयमा निर्माता र हल मालिकबिच यस्तो समस्या सिर्जना हुनु नयाँ कुरा नभएको चलचित्र सङ्घका महासचिव तथा चलचित्र वितरक नरेन्द्र महर्जनले बताए । उनी भन्छन्, “एकै पटक धेरै चलचित्र प्रदर्शनमा आएपछि ‘सो’ यसै नै कम हुन्छ ।

एकै पटक तीन वटा चलचित्र प्रदर्शन हुन्छ र त्यसमाथि गत हप्ताको नेपाली चलचित्र पनि हलबाट उत्रिएको छैन । अनि हामीले ‘सो’ कसरी बाँडफाँट गर्ने,” महर्जनले भने । हप्तामा एउटा मात्र चलचित्र प्रदर्शन हुने हो भने ‘सो’ त प्रशस्तै पाउने महर्जनले बताए । एउटा नेपाली चलचित्र काँडेतारलाई मात्र ‘सो’ दिएर अन्यलाई नदिने कुरा पनि त हुँदैन भन्ने उनको तर्क छ । चलचित्रकर्मी र हल सञ्चालकबिच चलचित्र प्रदर्शनलाई लिएर विवाद चुरिनु कुनै नौलो कुरा होइन ।

चलचित्र प्रदर्शन भएपछि निर्माताले नेपाली चलचित्रलाई पर्याप्त ‘सो’ नदिने आरोप लगाउँदै आएका छन् भने हल सञ्चालकले व्यवसायसमेत हेर्नुपर्ने जिकिर गर्दै आएका छन् । पछिल्लो समय प्रदर्शनमा आएका तीन चलचित्रले पनि यही विवादको सामना गरिरहेको छ । जसले नेपाली चलचित्र क्षेत्रलाई नै तरङ्गित बनाएको नै छ तर सधैँ आउने यस्तो विवादको किचलो कहिलेसम्म भन्ने कुराको समाधान गर्नेतिर भने कोही अग्रसर भएको देखिँदैन । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्