Logo

घरेलु कम्पनीसँग सहकार्य गरेर इरानले तेल उत्पादन बढाउने



इरान, ५ चैत । इरानले आफ्नो तेल उत्पादन बढाउन घरेलु कम्पनीहरूसँग अर्बौं डलरको सम्झौता गरेको छ ।

पश्चिमी प्रतिबन्धको सामना गरिरहेको इरानको सरकार र व्यवसायीहरूले ६ वटा प्रमुख क्षेत्रमा दैनिक तेल उत्पादन बढाउनका लागि १३ अर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

तेल उद्योगको आधिकारिक समाचार एजेन्सी सानाले यो सम्झौतालाई इरानको ‘पछिल्लो दशकमा सबैभन्दा ठूलो तेल सम्झौता’ भनेको खबरमा उल्लेख छ । एजेन्सीका अनुसार उनीहरूले देशको दैनिक उत्पादनमा तीन लाख ५० हजार ब्यारेल थप्ने लक्ष्य राखेका छन् ।

एक ब्यारेलमा झण्डै एकसय ६० लिटर तेल हुन्छ । अक्टोबरमा इरानी तेलमन्त्री जवाद ओवजीले मार्च १९ को फारसी वर्षको अन्त्यसम्म देशको तेल उत्पादन प्रतिदिन ३६ लाख ब्यारेलसम्म पुग्ने भन्दै नयाँ वर्षमा तेल उत्पादन प्रतिदिन ४० लाख ब्यारेलसम्म पुग्ने दावी गरेका थिए ।

तेहरानको आणविक कार्यक्रमलाई रोक्न बनाइएको ऐतिहासिक सम्झौताबाट अमेरिका पछि हटेपछि पश्चिमी प्रतिबन्ध पुन: लागू भएसँगै सन् २०१८ मा इरानको तेल क्षेत्र प्रभावित बनेको थियो । पश्चिमी प्रतिबन्धका कारण विदेशी कम्पनीहरू इरान छाड्न बाध्य भएका थिए ।

प्रतिक्रिया दिनुहोस्