Logo

८७ प्रतिशत मतसहित पुटिन रुसको राष्ट्रपतिमा पुनः निर्वाचित



मस्को, ६ चैत, (एएफपी) । रूसी नेता भ्लादिमिर पुटिन राष्ट्रपतिको छ बर्षको नयाँ कार्यकालका लागि निर्बाचित भएका छन् ।

प्रायः विपक्षी नेता सहभागी नभएको निर्वाचनमा राष्ट्रपति पुटिनसँग प्रतिस्पर्धा गरेका अन्य तीन जना प्रतिस्पर्धीहरू क्रेमलिनले खडा गरेका देखावटी उम्मेदवारहरू मात्र भएको उनका आलोचकहरूले आरोप लगाएका छन् ।

रूसी निर्वाचन अधिकारीहरूले सार्वजनिक गरेको चुनावी नतिजा अनुसार पुटिनले ८७ प्रतिशत मत पाएका छन् भने उनका प्रतिस्पर्धी निकोलाई खारितोनोभले ४.१ प्रतिशत, भ्लादिस्लाभ दाभान्कोले ३.८ प्रतिशत र लियोनिद स्लट्स्काईले ३.१५ प्रतिशत मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकारीले चुनावमा ७४ प्रतिशत मतदाता सहभागी भएको बताएका छन् । आलोचकहरूले यो निर्वाचनमा खासमा कुनै भरपर्दा विपक्षी नेतालाई निर्वाचनमा उम्मेदवार बन्नबाट रोक लगाइएको यो निवाचनमा राष्ट्रपति पुटिनले सन् २०१८ को निर्वाचनमा ल्याएकोभन्दा झण्डै १२ प्रतिशत मत बढी ल्याएको देखिन्छ ।

रूसको राजनीतिमा सशक्त विपक्षीको भूमिका खेल्दै आएका एलेक्सी नभाल्नीको निर्बाचनभन्दा करिब एक महिना जेलमा मृत्यु भएको थियो । मृत्युलाई पुटिनका आलोचक तथा विपक्षी नेताहरूले ‘रहस्य’का रूपमा हेर्दै आएका छन् । यो समय पुटिनको आलोचक मानिने प्राय नेता कित विदेशमा निर्वासित जीवन विताइरहेका छन् कि रूसी जेलमा छन् ।

निगरानी समूह ओभीडी–इन्फोका अनुसार निर्वाचनका समय विपक्षी नेताहको अभियानलाई सघाएका कम्तीमा ८० जना रूसी नेता पक्राउ परेका छन् ।

यसैबीच, रूसका पूर्वव्यवसायी तथा क्रेमलिनका आलोचक मिखाइल खोदोर्कोभ्स्कीले रूसी शासकविरुद्ध विपक्षी एकजुट रहेको पुष्टि गर्दै सोमबार पश्चिमा सरकारलाई भ्लादिमिर पुटिनको विजयलाई मान्यता नदिन आग्रह गरेका छन् ।

सेन्टर फर लिबरल मोडर्निटीथिङ्क ट्याङ्कमा आयोजित एक कार्यक्रममा उनले भने, “हामीले पश्चिमा समाजप्रति ठूलो अपेक्षा राखेका छौँ र हामी पुटिनलाई वैध नमान्न आग्रह गर्छौं ।”

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचनबाट चुनिएकोमा रूसी राष्ट्रपति पुटिनलाई बधाई ज्ञापन गर्दै उनीसँग आगामी दिनमा थप सहकबार्य गर्ने बताएका छन् ।

कैयौँ पश्चिमा देशहरूले पनि रूसको चुनाव स्वतन्त्र र निष्पक्ष नभएको भन्दै आलोचना गरेका छन् । वाशिङटनले ‘स्वाभाविक रूपमा चुनाव स्वतन्त्र र निष्पक्ष नरहेको’ जनाएको छ । अमेरिकाले जस क्रममा पुटिनले राजनीतिक विपक्षीहरूलाई जेल हालेको र अन्यलाई उनीविरुद्ध चुनाव लड्न रोक लगाएको कुरा उल्लेख गरेको छ ।

जर्मनीले त्यसलाई नियन्त्रण, दमन र हिंसाका भरमा एक अधिनायकवादी शासकले गराएको ‘छद्म निर्वाचन’ को संज्ञा दिएको छ । यूकेका विदेशमन्त्री डेभिड क्यामरूनले ‘युक्रेनी भूभागमा गराइएका गैर कानुनी निर्वाचन’ को निन्दा गरेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘रुसी शासकले थप एक चुनावको नाटक गरेको’ टिप्पणी गरेका छन् । उनले जीवनभर शासन गर्नका लागि पुटिनले जे पनि गर्ने जिकिर गरे ।

पोल्यान्डले मतदान निकै दमनको अवस्थाबीच भएको र त्यस्तो अवस्थामा स्वतन्त्र र लोकतान्त्रिक विकल्प छान्नु असम्भव भएको बताएको छ ।

निर्वाचनको नतिजा सार्वजनिक भएपछि नेता पुटिनले रूसी सामाजिक सञ्जाल टेलीग्राममार्फत सन्देश जारी गर्दै आगामी दिनमा देशको सेनालाई थप बलियो बनाउने र ‘युक्रेनमा रूसको विशेष सैन्य कारबाही’लाई प्राथमिकतामा राख्ने बताए ।

उनले प्राप्त नतिजाले रूसको हालको कदमप्रति जनताले विश्वास प्रस्तुत गरेको बताए । उनले रुसीहरू एकताबद्ध हुँदासम्म उनीहरूलाई कसैले भयभित पार्न वा दबाउन नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्