Logo

प्रकाशशरण महतले अघि बढाएका सकारात्मक कार्यक्रम रोक्दिनँ: अर्थमन्त्री



काठमाडौँ, १६ चैत । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री प्रकाशशरण महतका पालामा भएका सकारात्मक कार्यक्रममा परिवर्तन नहुने बताएका छन् ।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंका देशीय निर्देशक फेरिस हदाद जर्भोससँग शुक्रबार मन्त्रालयमा भएको भेटमा उनले मन्त्री फेरिँदैमा सरकारको नीतिमा तात्विक परिवर्तन नहुने बताएका हुन् ।

महतले संसद्‍मा प्रस्तुत गरेको आगामी बजेटको सिद्धान्त र प्राथमिकताको स्वामित्व लिएर आफूले त्यो सन्देश दिइसकेको उनको भनाइ छ । ‘मन्त्री फेरिँदैमा नीतिमा धेरै परिवर्तन गर्नु हुँदैन । राज्यको नीतिमा स्थायित्व चाहिन्छ,’ पुनले भने, ‘कतिपय कोणबाट मलाई सिद्धान्त र प्राथमिकतामा हेरफेर गर्न सुझाव पनि आएको हो । तर, मैले त्यसो गर्नु उपयुक्त ठानिनँ ।’

सिद्धान्त र प्राथमिकताबारे संघीय संसद्का दुवै सदनमा सांसदले हरेक प्रश्नको जवाफ दिएको र जस्ताको तस्तै पारित भएको स्मरण मन्त्री पुनले गरेका थिए ।

आगामी १६ र १७ वैशाखमा निर्धारण गरिएको तेस्रो लगानी सम्मेलन र असारमा काठमाडौँमा हुने विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडा) बैठक तोकिएकै समयमा हुने जानकारी पनि उनले दिए । मन्त्री पुनले पूर्वनिर्धारित कार्यतालिका अनुसार नै ती कार्यक्रम हुने सन्देश विश्व बैंक मुख्यालयसम्म पुर्‍याइदिन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्