Logo

भारतका विपक्षी गठबन्धनद्वारा सरकारविरुद्ध प्रदर्शन



भारत, १८ चैत । आगामी महिना हुने चुनावमा धाँधली हुने जोखिम बढेको भन्दै भारतका विपक्षी गठबन्धन दलहरूले राजधानी दिल्लीमा प्रदर्शन गरेका छन् ।

नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल भ्रष्टाचारको आरोपमा पक्राउ परेयता आयोजना भएको याे पहिलो विपक्षी प्रदर्शन हो ।

हजारौँ प्रदर्शनकारी सहभागी भएको र्‍यालीमा विपक्षी नेताहरूले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले देशका अनुसन्धान निकायहरूलाई प्रयोग गरी आफ्ना नेताहरूलाई पक्राउ गरेको र उनीहरूलाई चुनावी अभियानबाट रोक्न खोजेको आरोप लगाएका हुन् । उनीहरूले भारत निरङ्कुशतावादतर्फ अघि बढिरहेको चेतावनी दिँदै त्यसलाई निन्दा गर्न र लोकतन्त्र र संविधानको रक्षा गर्न आफूहरू भेला भएको बताएका छन् ।

भारतमा आउँदो अप्रिल १९ देखि चरणबद्धरूपमा चुनाव हुँदैछ । विपक्षी कांग्रेस पार्टीलाई नियम मिचेको भन्दै कर विभागले २० करोड अमेरिकी डलरभन्दा बढी जरिबाना गराएको छ ।

प्रदर्शनमा बोल्दै कांग्रेस नेता राहुल गान्धीले विपक्षी दललाई जरिबाना, विपक्षी नेताहरूको पक्राउ, निर्वाचन आयोगमा आफ्ना मानिस नियुक्तलगायतका गतिविधि गरेर सत्तारूढ दलले चुनावमा ‘म्याच फिक्सिङ’ गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्