Logo

विगतका अनुभवबाट शिक्षा लिएर अगाडि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री खनाल



काठमाडौँ, २० चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले विगतको नकारात्मक र सकारात्मक अनुभवबाट शिक्षा लिए मात्रै समाजवादको सफल कार्यान्वयन गर्न सकिने बताएका छन् ।

समाजवादी मोर्चाले आज आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले २०७४ को निर्वाचनपछि प्राप्त भएको जनमतलाई जोगाउन नसक्दा नेपालको वामपन्थी आन्दोलन र समाजवादी यात्रा अगाडि बढ्न नसकेको बताएका हुन् ।

पूर्वप्रधानमन्त्री खनालले पछिल्ला दिनमा बनेको गठबन्धनले जनतामा नयाँ विश्वास पैदा गरेको उल्लेख गर्दै जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी नेपाली विशेषताको समाजवादी कार्यक्रम अगाडि बढाउनुपर्ने स्पष्ट पारेका थिए । उनले स्वास्थ्य, शिक्षा र रोजगारी अभिवृद्धि गर्ने गरी वर्तमान सरकारले नीति तथा कार्यक्रम र बजेटमा प्रबन्ध गर्नुपर्ने र त्यसलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।

सही नीति र कार्यदिशा बनाएर वामपन्थी र समाजवादी शक्तिबीच एकता कायम गर्दै मुलुकलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ । वामपन्थी समूहबीच सहकार्य गर्ने ठाउँमा आइपुगेको स्पष्ट पार्दै उहाँले सङ्गठन र संरचना विकास गरेर जनताका बीचमा जानुपर्नेमा जोड दिए । “नयाँ ढङ्गले एकताको मञ्च खोजौँ । सडक, संसद् र सरकारबाट प्रगतिशील नीति ल्याएर कार्यान्वयन गर्ने सङ्कल्प गरौँ” उनले भने ।

प्रतिक्रिया दिनुहोस्