Logo

सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखेको छ: प्रधानमन्त्री



काठमाडौँ, २० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको आकांक्षालाई सम्बोधन गर्ने लक्ष्यलाई सम्बोधन गर्ने उद्देश्यसहित सुशासन, सामाजिक न्याय र समृद्धिलाई वर्तमान सरकारले विशेष ध्यान दिएको बताएका छन् ।

समाजवादी मोर्चाले आज आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया’लाई सम्बोधन गर्दै उनले समाजवादको आधार तयार पार्ने उद्देश्यका साथ आफूले नयाँ कदम चालेको उल्लेख गरेका हुन् ।

“जोखिम मोलेर नै आफूले देशभक्त र वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने जमर्को गरेको हो”, उनले भने, “जनताले नै सडकबाट समाजवाद जन्माउने हो । अन्तत: सडकबाटै समाजवाद जन्माउन केन्द्रित हुनैपर्छ ।”

प्रधानमन्त्री दाहालले वर्तमान संविधानको प्रगतिशील कार्यान्वयनका लागि आपसी एकतालाई सुदृढ गर्दै अगाडि बढ्नुपर्ने बताए । देशभक्त, प्रगतिशील र समाजवादी शक्तिबीच एकता र सहकार्यको आवश्यकता औँल्याउँदै उनले थुप्रै चुनौतीका बीचबाट सुशासन, सामाजिक न्याय र समृद्धिलाई अगाडि बढाइएको बताएका छन् ।

जनताको आकांक्षालाई सम्बोधन गर्न जुन बेगबाट जानुपर्दथ्यो । त्यो अवस्था विगतको गठबन्धनबाट नदेखेपछि आफूले नयाँ निर्णय गरेकोसमेत उनको कथन छ ।

प्रधानमन्त्री दाहालले भ्रष्टाचारका विरुद्ध अभियान चलाउने, सरकारी सम्पत्ति व्यक्तिमा लैजाने र तस्करीका विरुद्ध सचेत अभियान चलाइएको उल्लेख गरे । नेकपा (माआवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’ले नेपालका समाजवादी, देशभक्त र राष्ट्रवादी एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तीव्र गतिमा अगाडि बढाउन सकिने विश्वास पनि व्यक्त गरेका छन् ।

“नेपाल यस्तो परिस्थितिमा छ, यहाँका समाजवादी एवं देशभक्त र राष्ट्रवादी एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तीव्र गतिमा अगाडि बढाउन सकिन्छ । यस्तो सम्भावना भएको देश नेपाल नै हो”, प्रधानमन्त्री दाहालले भने, “त्यसकारण यही विषयलाई आत्मसात् गरेर मैले केही जोखिम र चुनौती मोलेरै भए पनि देशभक्त वामपन्थीहरूलाई एकतामा ल्याउने जमर्को गरेकै हो ।”

समाजवादको जन्म कहाँबाट हुन्छ रु भन्ने तर्क आउने गरेको उल्लेख गर्दै उनले भने, “अन्तत: समाजवाद जन्मने भनेको सडकबाटै हो, किनकि जनता सडकमा हुन्छन् । पहिलो प्राथमिकता सडकले नै पाउनुपर्छ । समाजवाद जन्माउने जनताले हो ।”

पार्टीहरू जनतासँग जोडिए मात्रै शक्तिशाली हुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले समाजवादको तयारीका लागि सरकार, सदन र सडकलाई अधिकतम उपयोग गर्नुपर्ने तर्क गरे । उनले हरेक राजनीतिक दलले जनतालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए ।

यसपटक सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा अगाडि बढ्ने जमर्को गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पुरानो गठबन्धनबाट जनताको आकांक्षाअनुसार काम हुन नसकेकाले समाजवादको आधार तयार गर्न नयाँ समीकरण बनाएको स्पष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्