Logo

इरानको धम्कीपछि इजरायलमा जीपीएस प्रणाली अवरुद्ध



इजरायल, २३ चैत । इरानसँग तनाव बढ्दै गएपछि क्षेप्यास्त्र र ड्रोन हमला रोक्नका लागि इजरायलले आफ्नो देशका विभिन्न भागमा जीपीएसलाई नचल्ने बनाएको छ ।

इरानले गत सोमवार सिरियास्थित आफ्नो वाणिज्य दूतावासको भवनमा आक्रमण भएपछि त्यसको कडा प्रतिक्रिया दिने वाचा गरेको छ।

उक्त हमला इजरायलले गरेको ठानिएको छ । त्यो आक्रमणमा एक जना वरिष्ठ सैन्य जेनरलसहित १३ जनाको ज्यान गएको थियो ।

इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)ले पनि युद्ध एकाइमा कार्यरत आफ्ना सैनिकहरूलाई कुनै पनि प्रकारको बिदा नदिने घोषणा गरेको छ ।

उसले ‘रिजर्भिस्ट’ भनिने जगेडा सैनिकहरूलाई आफ्नो वायु रक्षा एकाइलाई थप प्रभावकारी बनाउन भन्दै बोलाएको भोलिपल्ट बिदा स्वीकृत नगर्ने घोषणा गरेको हो ।

इजरायली अधिकारीहरूले इरानले तत्कालै प्रतिक्रयास्वरूप हमला गर्न सक्ने ठानेको देखिन्छ । मुस्लिमहरूको पवित्र महिना रमजान अन्तिम शुक्रवार ‘कुड्स डे’ वा ‘जेरुसलेम डे’ पनि हो । यस दिन प्राय: प्यालेस्टीनको समर्थन र इजरायलको विरोधमा जुलुसहरू प्रदर्शन हुने गर्छन् । त्यस्ता जुलुसहरू विशेषगरी इरानमा निस्कने गर्छन् ।

 

प्रतिक्रिया दिनुहोस्