Logo

मिसन ८४ को लक्ष्य एमालेको एकल बहुमत: अध्यक्ष ओली



कास्की, २३ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ को लक्ष्य एमालेको एकल बहुमत भएको बताएका छन् ।

नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीको पद तथा गोपनीयताको सपथ समारोहमा शुक्रबार उनले सो कुरा बताएका हुन् ।

अहिले नयाँ गठबन्धन नभएर नयाँ राजनीतिक समीकरण भएको उनको भनाइ छ । “हामीले नयाँ राजनीतिक समीकरण बनाएका छौँ । मिसन चौरासीबाट एमालेको एकल बहुमत आउँछ । बहुमत आए पनि हामी एक्लै सरकार चलाउँछौँ भन्दैनौँ, अरुलाई पनि सँगै लैजान्छौँ” अध्यक्ष ओलीले भने ।

राजनीतिमा फुट र एकता सधैँका लागि नहुने देखिएको उल्लेख गर्दै उनले सधैँ आफूले मात्र अवसर पाउनुपर्छ भन्ने मान्यता त्याग्न आग्रह गरेका थिए । अधिवेशनमा वैचारिक र नेतृत्वको बहसपछि समाधान लिएर जनतामा जान उनले निर्देशन दिए ।

एमालेलाई एक्ल्याउने अनेक प्रयासका बाबजुद कास्कीमा एमालेले अभूतपूर्व नतिजा निकालेको भन्दै उनले कास्कीलाई ‘सुदृढ लालकिल्ला’ को संज्ञा दिए । पोखरा घोषणा गरे पनि, नगरे पनि पर्यटनको राजधानी नै भएको तर्क गर्दै उनले यसको थप विकासको नेतृत्व एमालेले गर्ने चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्