Logo

मेक्सिकोले इक्वेडरसँगको सम्बन्ध तोड्यो



इक्वेडर, २४ चैत । इक्वेडरमा रहेको आफ्नो दूतावासमा आक्रमण गरेको भन्दै मेक्सिकोले इक्वेडरसँगको सम्बन्ध तोडेको छ ।

इक्वेडरका पूर्व उपराष्ट्रपति जोर्गे ग्लास त्यहाँको मेक्सिकन दूतावासमा शरण लिएर बसेका थिए । ग्लासलाई पक्राउ गर्न इक्वेडरको प्रहरीले मेक्सिकोको दूतावासभित्र प्रवेश गरेर आक्रमण गरेको थियो ।

आफ्नो दूतावासभित्र प्रवेश गरेर सबै अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको र देशको सार्वभौमसत्तामाथि नै आक्रमण गरेको भन्दै मेक्सिकोले इक्वेडरसँगका सबै सम्बन्ध तोडेको घोषणा गरेको बीबीसीले जनाएको छ ।

गएको डिसेम्बरमा इक्वेडरले भ्रष्टाचारको आरोपमा पूर्व उपराष्ट्रपति ग्लासविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि ग्लासले मेक्सिकोको दूतावासमा शरण लिएका थिए । ग्लास २०१३ देखि २०१७ सम्म इक्वेडरको उपराष्ट्रपतिको रुपमा कार्यरत थिए । भ्रष्टाचारको आरोप बढ्दै गएपछि उनलाई पदबाट हटाइएको थियो । यस्तै उनले ब्राजिलको निर्माण कम्पनी ओडेब्रेच्टमा साढे १३ मिलियन डलर भ्रष्टाचार गरेको भन्दै छ वर्षको जेल सजाय सुनाइएको थियो ।

गएको नोभेम्बरमा ग्लास जेलबाट रिहा भएपनि इक्वेडोरका अधिकारीले भ्रष्टाचारको थप आरोप लगाउँदै अर्को पक्राउ आदेश जारी गरेपछि ग्लास मेक्सिकन दूतावासमा शरण लिन पुगेका थिए । तर इक्वेडरले भने ग्लासलाई पक्राउ गर्न भन्दै दूतावासमै आक्रमण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्