Logo

अमेरिकामा गोली चलाउने किशोरका अभिभावकलाई जेल सजायको फैसला



अमेरिका, २८ चैत । अमेरिकाको मिशिगनमा गोली चलाउने एक किशोरका अभिभावकलाई अदालतले १० देखि १५ वर्षको जेल सजाय सुनाएको छ ।

चार जना विद्यार्थीको गोली हानी हत्या गरेको घटनामा किशोरका अभिभावकलाई शुरुमा सात वर्षको सजायको प्रस्ताव गरिएको थियो तर पीडित पक्षले सजाय अवधि बढाउन माग गरेको बीबीसीले जनाएको छ ।

गोली चलाउने किशोरका आमाबाबु अदालतमा उपस्थित भएर छोराका कारण भएको घटनाबारे आफूलाई पछुतो भएको भन्दै दु:ख व्यक्त गरेका खबरमा उल्लेख छ । पीडित पक्षले किशोरका आमाबुबाले छोराको बिग्रँदै गएको मानसिक स्वास्थ्यलाई बेवास्ता गरेको आरोप लगाएको थियो ।

१५ वर्षका युवकले अक्सफोर्ड हाईस्कुलमा गोली चलाउँदा चार जना विद्यार्थीको ज्यान जानुका साथै सात जना घाइते भएका थिए । ज्यान गुमाउने सबै जना १७ वर्षमुनिका रहेका खबरमा उल्लेख छ ।

अमेरिकामा किशोरावस्थाका छोराले हत्या गरेको अभियोगमा सजाय पाउने उनीहरू पहिलो अभिभावक भएका भन्दै न्यायधीशले यो फैसलाले भविष्यमा हुने सम्भावित घटनालाई रोक्न मद्दत गर्ने बताएका छन् ।

यसअघि पनि यस्ता घटना भइरहेकामा किशोर वा उनका परिवारलाई दिने सजायबारे बेवास्ता हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्