Logo

कांग्रेस सभापति देउवाद्वारा नयाँ वर्षको शुभकामना



काठमाडौँ, १ वैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा सुशासन कायम गर्दै आर्थिक विकास र समृद्धिको मार्गमा अग्रसर हुनुपर्ने बेला आएको उल्लेख गरेका छन् ।

उनले नयाँ वर्ष २०८१ सालका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै विकास र समृद्धिका लागि सबै राजनीतिक दल तथा जिम्मेवार निकाय दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर एकतावद्ध भई अगाडि बढ्न आवश्यक रहेकामा जोड दिएका छन् ।

सभापति देउवाले नेपाली जनताको लामो त्याग, सङ्घर्ष, आन्दोलन र वलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिहरूको रक्षा गर्दै भविष्यमा आउने राष्ट्रिय चुनौतीहरूको एकजुट भई सामना गर्ने दृढ सङ्कल्प र अठोटका साथ नवीन अवसरको उपयोग गर्नुपर्ने बताए ।

नयाँ वर्ष २०८१ ले सबै नेपाली बीचको एकतालाई अझ बढी मजबुत र सुदृढ गर्ने विश्वास व्यक्त गर्दै सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरेर आर्थिक, सामाजिक र सांस्कृतिक रुपले समृद्ध नेपाल निर्माणमा सबै लाग्नुपर्ने उल्लेख गरेका छन् ।

साथै उनले त्यसका लागि नयाँ जोस, उत्साह र जाँगर प्रदान गर्न सकोस् भन्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्