Logo

दीपेन्द्रले हाने एकै ओभरमा ६ छक्का, नेपालले कतारलाई दियो विशाल लक्ष्य



ओमान, १ वैशाख । दीपेन्द्र सिंह ऐरीको विस्फोटक ब्याटिङमा नेपालले कतारलाई जितका लागि विशाल रनको लक्ष्य प्रस्तुत गरेको छ ।

एसिसी मेन्स प्रिमियर कप अन्तर्गत ओमानको अल अमेरत क्रिकेट मैदानमा आफ्नो दोस्रो खेलमा नेपालले कतारसामू २११ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

नेपालका लागि ऐरीले कीर्तिमानी खेल प्रदर्शन गरेका छन् । उनले एकै ओभरमा छ छक्का प्रहार गर्दै यसअघि भारतका युवराज सिंहका नाममा रहेको कीर्तिमानको बराबरी गरेका छन् । पारीको अन्तिम ओभरमा बलिङ गर्न कतारका कमरान खान आएका थिए । उक्त ओभरको छ बलमा ऐरीले छ छक्का प्रहार गरेका थिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा २१० रन बनायो । नेपालका लागि ऐरीले सर्वाधिक ६४ रन बनाए । कूल २१ बल खेलेका उनले सात छक्का र तीन चौका प्रहार गरेका थिए ।

नेपालका लागि ओपनर आशिफ शेखले पनि अर्धशतकीय पारी खेले । उनले ४१ बलमा छ चौकाको सहयोगमा ५२ रन बनाए । कुशल मल्लले १८ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकाको सहयोगमा ३५ रन बनाए । साथै कप्तान रोहित पौडेलले १८, कुशल भुर्तेलले १२, सन्दीप जोराले सात, गलसन झा र विवेक यादवले पाँच-पाँच रनको योगदान दिए ।

कतारका लागि हिमांशु राठोर र मुसावर शाहले तीन-तीन विकेट लिए भने अमीर फारुकले एक विकेट लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्