Logo

तातो हावाले कष्टकर बन्दै तराईको जनजीवन



रुपन्देही, १० वैशाख । वैशाखको पहिलो साता नै भैरहवा आसपासको अधिकतम तापक्रम करिब ४४ डिग्री पुगेको छ । तीव्र गतिमा तापक्रम वृद्धि र तातो हावा (लू) चल्दा जनजीवन कष्टकर बन्दै गएको छ । ठाउँठाउँमा आगलागी भइरहेका छन् । आगलागीले करोडौंको धनमाल नष्ट भएका छन् । गर्मी बढ्दै जाँदा बाटो सुनसान हुँदै गएका छन् । अस्पतालमा बिरामीको चाप बढेको छ ।

शनिबार नेपालमै सबैभन्दा बढी गर्मी (४३ दशमलव ६ डिग्री) भैरहवामा मापन भएको छ । आइतबार ४० दशमलव ६ डिग्रीले केही कम गर्मीको महसुस गराए पनि आज फेरि गर्मीले प्रचण्ड रुप लिएको छ । आज भैरहवाको तापमान ४३ डिग्री पुगेको छ ।

भैरहवामा अन्य ठाउँभन्दा बढी गर्मी हुन थालेपछि जनजीवन कष्टकर बनेको हो । रुपन्देहीलगायतका जिल्लामा गर्मी बढेपछि स्थानीयवासीको दैनिकीमा समस्या आएको छ । चार–पाँच दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त छ । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै तातो हावा चलेपछि सर्वसाधारण घरबाहिर निस्किन सकेका छैनन् । अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाज प्रभावित भएको छ ।

भीम अस्पताल भैरहवामा गर्मीका कारण बिरामी भई आउनेको चाप बढ्दो छ । सामान्य अवस्थामा दैनिक दुई सयसम्म बिरामी आउने अस्पतालमा अहिले गर्मीकै कारण सात सयको हाराहारीमा बिरामी आएको भैरहवा भीम अस्पतालका कार्यालय प्रमुख डाक्टर मोहम्मद नुरुल हुदाले जानकारी दिनुभयो ।

चिसो मौसम हुँदा सरदर तीनदेखि चार सय बिरामीको सङ्ख्या हुन्थ्यो, अहिले छ देखि सात सय दैनिक पुगेको छ,” उहाँले भन्नुभयो, “धेरैमा पखाला र छालासम्बन्धी समस्या देखिएको छ ।

गर्मीसँगै पानी कम प्रयोग गर्दा हुने बिरामीको सङ्ख्या पनि बढेको उहाँले बताउनुभयो । पिसाबको सङ्क्रमण, कडा ज्वरो, मिर्गौलामा पत्थरी भएका बिरामीमा तीव्र पेट दुख्ने समस्याका बिरामी अस्पताल आइरहेका छन् । अहिलेको वातावरणका कारण दम रोगका बिरामीलाई समस्या भएको उहाँले बताउनुभयो ।

गर्मी बढ्दा चिसो पेयपदार्थ र फलफूल जुसको व्यापार बढेको छ । मध्याह्न र अपराह्न सरकारी कार्यालयसहित बजारमा सर्वसाधारणको उपस्थिति पातलिएको छ । स्थानीय बासिन्दाको भनाइअनुसार विगतको वर्षभन्दा यस वर्ष बढी गर्मी भएको हो । गर्मीले मानिस मात्र हैनन्, पशुपंक्षी समेत प्रभावित भएका छन् । बजार सुनसान भएपछि व्यापार घटेको छ । मोबाइल व्यापारी हरि पाण्डेले गर्मीकै कारण व्यापार घटेको बताउनुभयो । “अहिले किसानसँग पैसा आएर बिक्री बढ्नुपर्ने हो,” पाण्डेले भन्नुभयो, “तर गर्मी र तातो हावाकै कारण आगलागीले किसानको अन्न नष्ट भएको छ, अनि कसरी व्यापार बढ्नु ?

अहिले अत्यधिक गर्मीका कारण बच्चाको मुख सुक्ने, पानीको कमी हुनेलगायत समस्या देखिएकाले उनीहरुलाई पर्याप्त झोलिलो पदार्थ ख्वाउन चिकित्सकले सुझाव दिएका छन् । दिउँसो ११ देखि ३ बजेसम्म अति आवश्यक काम नपर्दासम्म घरबाट बाहिर ननिस्कन भीम अस्पतालका कार्यालय प्रमुख डाक्टर मोहम्मद नुरुल हुदाले सुझाव दिनुभयो ।

बाहिर निस्किनै परे पूरा बाहुलाको लुगा लगाएर निस्किने र मुख राम्ररी छोप्नुपर्छ,” उहाँले भन्नुभयो, “कतिपयले सन्सक्रिम लगाउनुहुन्छ, यसले पनि एलर्जी हुने हुँदा चिकित्सकको सल्लाहमा मात्र प्रयोग गर्नुपर्छ ।

गर्मीबाट जोगिन पानी र झोलिलो पदार्थ बढीभन्दा बढी खान उहाँको सुझाव छ । तातो हावा, प्रचण्ड गर्मी र आगलागीबाट वातावरणमा परेको असरका कारण जनजीवन प्रभावित भएपछि राहत पाउन सर्वसाधारण, किसान, व्यापारीलगायतले वर्षाको कामना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्