Logo

देशलाई समृद्ध बनाउन सक्ने शक्ति एमालेमा छ : ओली



इलाम, १८ वैशाख  । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक सीप एमालेसँग मात्र भएको बताउनुभएको छ । देशलाई समृद्ध बनाउन सक्ने शक्ति एमालेसँग भएकाले अर्थनीति, सुशासनको नीति, विकासको नीतिजस्ता हरेक क्षेत्रका नीति एमालेसँग रहेको दावी गर्नुभयो ।

इलाममा आयोजित निर्वाचन विजयी सभालाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो “एमाले सय वर्षको हुँदासम्म हरेक क्षेत्रमा नेपाल समृद्ध भइसक्छ । एमालेको नेतृत्वमा नै देशको विकास हुन्छ” भन्नुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले पहिचानको मुद्दा उठिरहेको सन्दर्भमा हाम्रो पहिलो पहिचान नेपाली भएको बताउनुभयो । “पहिलो पहिचान नेपाली हो । धनी भए धनी नेपाली, गरिब भए गरिब नेपाली, व्यक्तिगत पहिचानले कोही सफल हुँदैन” उहाँले भन्नुभयो “पहिला पनि मेची, कोशी अञ्चल हुँदा त्यसरी नै त बाँडिएको थियो । यो ठूलो कुरा होइन, साझा नाम राख्दा केही बिग्रंदैन ।

एउटा जात र व्यक्तिको पहिचानले सबै समेटिंदैन । बहुजाती बहुभाषिक नेपाली हौं, एकअर्काको भाषा, संस्कृति, जातिलाई सम्मान गरौं, त्यो पहिचान हो ।” अध्यक्ष ओलीले चुनावअघि इलामको विकासको जिम्मा लिने प्रतिवद्धता जनाएको आफूलाई स्मरण रहेको र त्यो पूरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।

देशको हितका लागि विकासका लागि भविष्यमा विभिन्न पार्टीसँग सहकार्य हुन सक्ने उहाँको भनाइ छ । अध्यक्ष ओलीले इलाम –२ को उपनिर्वाचन सम्पन्न गर्न लाग्नुभएका इलामेली जनता, सुरक्षा निकाय, निर्वाचन आयोग, कर्मचारी, सञ्चारकर्मीलगायत सबैलाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्