Logo

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान



काठमाडौँ , १० जेठ । नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्नुभएको छ । वसन्त ऋतुको जारी सगरमाथा आरोहणमा गोरखाकी फुञ्जोले आज बिहान ६ः२३ बजे सगरमाथाको चुचुरोमा पुगेर सगरमाथाको सबैभन्दा छिटो महिला आरोहीको कीर्तिमान बनाउनुभएको हो ।

सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार बुधबार दिउँसो ३ः५२ मा आधार शिविरबाट आरोहण सुरु गरी आज बिहान ६ः२३ बजे आरोही फुञ्जोले सगरमाथाको चुचुरोमा पाइला टेक्नुभएको थियो । उहाँले १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्नुभएको जनाइएको छ ।

यसअघि सन् २०१८ मा फुञ्जोले ३९ घण्टा ६ मिनेटमा सगरमाथाको शिखरमा पुगेर रेकर्ड बनाउनुभएको थियो । पछि सन् २०२१ मा हङकङकी स्याङ यिन हङले २५ घण्टा ५० मिनेटमा सगरमाथा आरोहण गरेर बनाएको कस्सतमान फुञ्जोले तोड्नुभएको हो । यसअघि दोलखाका पेम्बादोर्जे शेर्पाले आठ घण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने पुरुषको रूपमा गिनिजबुकमा रेकर्ड कायम गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्