Logo

नेपालले क्रिकेटमा एकदिवशीय मान्यता पाउँदाको खुसी



रोमन आचार्य

पन्ध्र मार्च अर्थात चैत्र एक गते, नेपाली क्रिकेट इतिहासको स्वर्णीम दिन । नेपालले चार वर्षका लागि एक दिवसीय क्रिकेटको मान्यता पाएको दिन । आज म सम्झन्छु, मेरा विद्यालका त्यी दिनहरु । म पहाडी जिल्ला इलाममा जन्मिएर हुर्किएको मान्छे । सानै उमेरदेखि क्रिकेट हेर्ने र खेल्ने शोख ममा थियो । विद्यालय पुग्न घरबाट एकदेखि डेढ घण्टाको उकालो बाटो हिँडेर जानु पर्दथ्यो । पहाडमा जहाँ त्यहीँ क्रिकेट खेलका लागि अनुकुल मैदान पनि नहुने । हाम्रो विद्यालय जनक माध्यमिक विद्यालयमा ठुलो मैदान थियो । म बिहान घरबाट एक हातमा आफ्नो पुस्तक अर्को हातमा क्रिकेट ब्याट र पाइन्टको गोजीमा क्रिकेट बल बोकेर विद्यालय जाने गर्दथेँ ।

कहिले काँही त स्ट्याम बनाउन ६ बटा बाँसको भाटा बोकेर पनि विद्यालय गइयो । दिउँसो ४५ मिनेटको ब्रेक टाइम हुन्थ्यो । म लगायत साथीहरु प्रकाश भट्टराई, उमेश घिमिरे, सुनिल घिमिरे, सुजन प्रधान, प्रताप गौतम, विवेक निरौलालगायतका अन्य साथीहरु क्रिकेट खेल्थ्यौँ । शुक्रबारको दिन एक बजे पश्चात् बिदा हुन्थ्यो । हामी पाँच बजेसम्म क्रिकेट खेल्थ्यौँ । ढिला घर फर्कदा परिवारको गाली कति पटक खाइयो त्यसको हिसाव नै छैन ।

नेपालले एक दिवसीय क्रिकेटको मान्यता पाएसँगै सबै क्षणहरु एकएक गर्दै मेरो दिमागमा पुनः ताजा भएर आयो । ८÷९ वर्ष अगाडि यसरी क्रिकेट खेलेको म लगायतका मेरा साथीहरुले विद्यालयका दिनहरु भन्दा माथि त क्रिकेटलाई निरन्तरता दिन सकेनौँ, तर मलाई गर्व छ, म आज क्रिकेटमा एक दिवसीय मान्यता पाएको देश नेपालको नागरिक हुँ ।

विश्वकप छनोट खेल्न जाँदा नै नेपालका कप्तान पारस खड्का र नेपालका कोच जगत टमटाले भनेका थिए कि हाम्रो अहिलेको लक्ष्य भनेको एक दिवसीय मान्यता पाउनु हो । जुन चार वर्षका लागि भए पनि साकार भएको छ । तर, अब नेपालको क्रिकेट भविष्य के हुन्छ ? प्रश्न पनि उति नै जन्मिएको छ भन्दा फरक नपर्ला ।

यतिबेला हामी एक दिवसीय क्रिकेटमा विश्वको १६ औँ स्थानमा छौँ । हामी भन्दा अगाडि क्रिकेटको जन्मदाता देश बेलायत, महान व्याट्सम्यान सचिन तेन्दुलकारको देश भारत, क्रिकेट इतिहासमा सबैभन्दा बढी विकेट लिने मुथैया मुरलीधरनको देश श्रीलङ्का, महान लेग स्पिनर सेन वानको देश अष्ट्रेलिया, टि ट्वान्टी महारथी वेस्ट इन्डिज लगायतका अन्य पन्ध्र देश छन् । यो तथ्याङ्क हेर्दा नेपालको क्रिकेट कुन स्तरमा पुगेको छ, अनुमान लगाउन सहज छ । तर, हामीले खेल्नै मैदान, खेलाडीले पाउने सेवा सुविधा, सरकारी लगानी, क्यानको राजनीति र विवाद यतिबेला हाम्रो क्रिकेटले खेप्नु परेको समस्या हो ।

नेपालले एक दिवसीय मान्यता पाएसँगै ‘क्रिकेट एसोसिएसन नेपाल’ ९क्यान० का पूर्व कार्यकारी अधिकृत भावना निरौलाको ट्वीट आयो । ट्वीटमा यस्तो लेखिएको थिया, ‘आजै बिहानै मात्र ग्राउन्ड स्टाफले फोन गर्नुभयो र भन्नु हुँदै थियो म्याम टियु ग्राउन्डमा पानी छैन, मैदान सुकिसक्यो सबैलाई भनिसकेँ कसैले वास्तै गर्दैनन् । नेपालको आजको उपलब्धिले हाम्रो भुइँमा खुट्टा छैनन, टेस्ट राष्ट्रको गोरेटो अब तयार हुँदै गर्दा हाम्रो क्रिकेट हेर्ने निकाय खै ?’ एकएक शब्द मेरो दिमागमा यति भारी भएर बस्यो कि मैले एकछिन केही सोच्नै सकिन । अन्य ट्विटहरु पनि पढेँ । क्रिकेट समर्थक समाजको ट्विट पढेँ । लेखिएको थियो, ‘ओडिआइ स्टाटस् त पायो, तर ओडिआइ खेल्ने मान्यता प्राप्त मैदान खै ? आइ कप खेल्ने त भयो तर डोमेस्टिक मल्टिडे खै ? सिरिज खेल्न त पाउँछ, तर पहल गर्ने कसले ? फन्ड आउँछ ७÷८ करोड तर त्यो चलाउने निकाय खै ? स्टाटस् त खेलाडीको बलले पायो, अब त्यो धान्ने आन्तरिक संरचना खै ?’ साह्रै मन खिन्न भयो ।

विसं १९९८ ताका नेपाली क्रिकेटलाई उकास्नका लागि क्रिकेट एसोसियसन अफ नेपाल अर्थात क्यानको स्थापना भएको हो । ७६ वर्षे लामो क्यानको इतिहासमा क्यानले आफ्नो आन्तरिक विवादलाई मिलाउन नसक्दा क्रिकेटको सर्वोच्च संस्था इन्टरनेसनल क्रिकेट काउन्सील (आइसीसी) ले यसलाई निलम्बित गरिसकेको छ । दुई वर्ष पुग्न लागेको छ नेपाली क्रिकेट अभिभावकविहीन बन्न पुगेको । यतिवेला हाम्रो क्रिकेटलाई आइसीसीले हेरिरहेको छ । यही क्यानको आन्तरिक विवाद मिलाउन पनि उसले पहल गरिरहेको छ । आइसीसीले क्यानलाई साधारण सभा गर्न भनेर २० मार्च समयसीमा तोके पनि त्यो सकियो तर न क्यानको साधारण सभा भयो न त विधान संशोधन ।

२०७२ साल मङ्सिर २८ मा क्यानको निर्वाचन भएसँगै क्यानमा राजनीति सुरु भयो । त्यो निर्वाचनबाट चतुुरबहादुर चन्द अध्यक्ष भए । तर, २०७२ पुस २४ मा रमेश सिलवालको अध्यक्षतामा तदर्थ समिति गठन भयो । जसको कारण थियो क्यानका पूर्वअध्यक्ष टङ्क आङ्बुहाङको पक्षले साधारणसभा राष्ट्रिय खेलकुद परिषद्को निर्देशन विपरीत भएको कारण देखाउँदै बहिष्कार गर्नु । त्यसपश्चात् यो विवाद अदालतसम्म पुग्यो । विवादकै बीच भावना घिमिरेलाई कार्यकारी अधिकृत नियक्त गरियो । बेलाबखत क्यानसँग उनको विवाद पनि सतहमा आइरहे । यसबीचमा क्यानभित्र अख्तियार पनि घुस्यो । कारण थियो अध्यक्षसहित विभिन्न पदाधिकारीले क्रिकेटका लागि आवश्यक भवन र मैदान निर्माणको नाममा र खेलाडीलाई आवश्यक पर्ने खेल सामग्री लगायत खरिद गर्दा व्यापक आर्थिक अनियमितता भएको भन्दै अख्यिारले मुद्दा नै दर्ता गर्यो । अख्तियारको प्रवेशसँगै आइसीसीले आफूले गर्दै आएको आर्थिक सहायता रकम पनि रोक्का गर्यो । पछि दुवईमा भएको आइसीसीको बैठकले क्यानलाई निलम्वन गर्यो ।

यति धेरै विवाद र समस्या र नैराश्यताको बीच नेपाली क्रिकेट टोलीले कहिल्यै हार मानेन । डिभिजन टुमा उपविजेता हुँदै विश्वकप छनोट खेल्न गएको नेपालले सन् २०१८ देखि सन् २०२२ सम्मका लागि वान डे मान्यता बोकेर आयो । यसमा नेपाली क्रिकेट खेलाडीको व्यक्तिगत योगदान धेरै छ ।
यहाँ अर्को प्रसङ्ग जोडौँ, अफिसमा बसेर दिउँसो काम गरिरहेको थिएँ । यसो फेसबुक हेरेको बीबीसी नेपाली सेवाले नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का र टोलीका अर्का सदस्य सोमपाल कामीसँगको अन्तरवार्ता फेसवुक लाइभ भइरहेको थियो । त्यहाँ पत्रकार निरञ्जन राजवंशीले सोधेका थिए, अबको क्रिकेट विकासमा क्यानले कस्तो भूमिका खेल्नु पर्दछ । त्यतिबेला नेपालका कप्तान पारस खड्काले जवाफ दिएका थिए, ‘अबको पहिलो आवश्यकता नै क्रिकेट सङ्घ हो । नेपालले एक दिवसीय क्रिकेट मान्यता पायो, अब भने पूर्वाधार निर्माणमा लाग्नु जरुरी छ । देशले क्रिकेटलाई माथि उकास्नु जरुरी छ, किनभने क्रिकेट खेलले नतिजा दिएको छ ।’ उनले त्यसैबेला भनेका थिए, ‘सधैँ यस्तो तरिकाले खेल अघि बढ्न सक्दैन । पाएको उपलब्धिहरु पनि शून्य हुँदै जान्छन् ।

नेपाल क्रिकेटमा कमजोर छैन भन्ने अनेक तथ्य हामीसँग छ । सन् २००६ को एसीसी क्रिकेट कपको इतिहास पल्टाएर हेर्ने हो भने नेपालले म्यानमारलाई १२ रनमा समेटेको थियो । अन्तर्राष्ट्रिय क्रिकेटमा यो इतिहास अरु देशसँग छैन । सोही खेलमा नेपालका बलर मेहबुब आलमले १० विकेट लिएका थिए । यो इतिहास पनि हामीसँगै छ । आइसीसी विश्व क्रिकेट लिगको एउटा खेलमा नेपालका स्लोर बलर शक्ति गौचनको प्रदर्शन पनि इतिहासमा सुनौलो अक्षरले लेखिएको छ । १०ओभर ८ मेडन २ रन ३ विकेट ५८ डट बल । यो इतिहास अरु देशको खेलाडीसँग छैन ।

सन् १९९६ मा एसोसियट सदस्यका रूपमा विश्व क्रिकेटमा भित्रिएको नेपालले सन् २०१४ मा टी–ट्वान्टी विश्वकप समेत खेलिसकेको छ । जहाँ नेपालले अफगानिस्तान र हङकङलाई हराएको थियो । भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनीलगायत विश्वका दिग्गज क्रिकेटरहरुले नेपाल र नेपाली टिमलाई बधाइ दिइसकेका छन् । आइसीसीले त झन् खेलको उच्च मूल्याङ्कन गर्दै आफ्नो फेसबुक पेज र ट्विटरको प्रोफाइलमा पनि नेपाली टिमको तस्वीर समेत राखेको थियो ।

साच्चै यति धेरै सम्भाव्यता, यति धेरै अवसर र खेलाडीको अथक मिहेनतलाई आजको दिनमा आत्मसाथ गर्दै क्रिकेट खेललाई विकसित गर्न जरुरी छ । यसको विकासका लगि वर्तमान सतहबाट माथि उठ्नु जरुरी छ । हामीसँग घरेलु क्रिकेट हुन जरुरी छ । घनगढी प्रिमियर लिग, एभरेस्ट प्रिमियर लिग लगायत बेलामौका धेरथोर धनराशीमा हुँदै आएको घरेलु क्रिकेटले मात्र हामीले छिमेकी देशहरु सरहको क्रिकेट खेल्न असम्भव छ । क्रिकेटका लागि टियु मैदान अर्थात कीर्तिपुर मैदानले मात्र अब वान डे खेल्ने खेलाडी उत्पादन गर्न सक्दैन ।

त्यसकारण सात प्रदेशमा मौसम र बलिङ, ब्याटिङ अनुसारको फरकफरक पिच भएका मैदान बन्न जरुरी छ । नेदरल्याण्डको राष्ट्रिय टिमले बारम्बार भने जस्तै हामीसँग क्रिकेट प्रेमी धेरै छन् तर क्रिकेट खेल्नलाई आवश्यक साधन स्रोतको व्यवस्थापन जरुरी छ ।

आज पनि मलाई याद छ र अझै पनि उस्तै जोश अनि जाँगर छ । तर, मेरो लागि त्यो समय सकियो । सायद विद्यार्थी उमेरमै मैले मेरो परिवारलाई भविष्यमा म क्रिकेटर बन्न चाहन्छु भनेको भए मैले त्यो बेला परिवारको साथ र सहयोग पक्कै पाउँदिन थिएँ । आज हरेक नेपालीका छोराछोरीले म क्रिकेटर बन्न चाहन्छु भन्ने हो भने परिवारले सहज वातावरण बनाइदिने अवस्था छैन । यो सोचमा पनि परिवर्तन हुन जरुरी छ ।

बाँकी रह्यो क्यानको विवाद र राजनीति । सफल राष्ट्र भारत, अष्ट्रेलिया, बेलायत जस्ता देशहरुको क्रिकेट इतिहास हेर्ने हो भने त्यहाँ खेलकुदमा राजनीति छैन । हाम्रो देशको राजनीतिले स्वतन्त्र भनिएको न्यायलय, पत्रकारिता लगायतका क्षेत्रमा जरा गाडेको छ भने खेलकुदमा यसले प्रभाव नपार्ने कुरै भएन । निजी क्षेत्रबाट हुने एकाध प्रतियोगिताले कहिलेसम्म क्रिकेटको भविष्य थाम्ने हो थाहा छैन । क्रिकेट विशेषज्ञ, पूर्व खेलाडीलाई क्यानको नेतृत्व कहिले सुम्पने हो थाहा छैन । सक्षम नेतृत्व सहितको राजनीतिक हस्तक्षेपमुक्त स्वायत्त क्रिकेट बोर्डको गठन कहिले हुने हो त्यो पनि थाहा छैन । वान डे स्टाटस् पाएको देशमा अर्को देशको क्रिकेटसँग समन्वय कसले गरिदिन्छ त्यसको जवाफ कसैसँग छैन । जेहोस् खेल क्षेत्रमा भएको राजनीति न्यूनीकरण हुँदै केही वर्षमा अन्त्य हुने हो भने हामी नेपालीले सेतो जर्सीमा पाँच दिन लगाएर लडर्सको मैदानमा ‘टेस्ट’ क्रिकेट खेलेको हेर्ने सपना विपनामा परिणत हुन समय लाग्दैन ।

प्रतिक्रिया दिनुहोस्