झापा, १० माघ । माओवादी केन्द्रले राष्ट्रिय सभाका लागि १ नम्बर प्रदेशबाट विना पोखरेललाई उम्मेद्वार बनाउने निर्णय गरेपछि कार्यकर्ता विभाजित बनेका छन् ।
माओवादी केन्द्र १ नम्बर प्रदेशका संयोजक सावित्रीकमार काफ्लेले श्रीमतीको नामसिफारिस गरेको आरोप लगाउँदै असन्तुष्ट कार्यकर्ताले सामाजिक संजालमा काफ्ले र पोखरेलको बिरोध गर्दै कार्यकर्ता विभाजित भएका हुन् । कतिपयले आफ्नै श्रीमतीलाई जागिर लगाएको जस्तो तल्लो स्तरको गाली गरेका छन् । एक जना नेताले सुँगुर जस्तो तुच्छ र भद्धा गाली गर्न भ्याएका छन् । गालीगलोज र उछित्तो काढ्न प्रतिस्प्रर्धा नै चलेको छ ।
कतिपय कार्यकर्ताले विना पोखरेलको उम्मेद्वारीको बचाउ गरेका छन् । उनीहरुले पार्टीको विना पूर्णकालिन कार्यकर्ता भएको बताएका छन् । २०४५ सालमा नेकपा मशालबाट संगठित विना हाल माओवादी के्रन्द्रको सल्लाहकार सदस्य हुन् । जनयुद्धमा सक्रिय रहेकी विना माओवादी नेता सावित्री कुमार काफ्लेकी श्रीमती भएकै आधारमा चर्को बिरोध भएको हो । बैद्य नेतृत्वको माओवादी छाडेर रामबहादुर थापा बादलसँगै माओवादी केन्द्रमा फर्किएका कारण पनि विनाको चर्को बिरोध भएको एकथरी कार्यकर्ताको बुझाई छ । अहिले एकथरीले सामाजिक संजालमा बिरोध गरेका छन् भने बादल नेतृत्वसँगै आउने माओवादी कार्यकर्ता बचाउमा लागेका छन् ।
पार्टी हेड क्वाटरले निर्णय गरेपनि पार्टीका प्रदेश संयोजक काफ्लेप्रति असन्तुष्टी खनिएको छ । माओवादी पार्टीमा नेता पत्नी, भाई, भतिजा, आफन्त, नातागोताले लाभको पद धारण गर्नु कुनै आश्चर्यको कुरा होइन भनेर सामाजिक संजालमा प्रतिक्रिया व्यक्तपनिछन् । प्रचण्ड पुत्री रेणु, ज्वाई उम्मेद्वार बन्दा, प्रभावशाली नेताका पत्नी उम्म्द्वार बन्दा र लाभको पद धारण गर्दा चुँ नगर्नेले विनाको बिरोध गर्नुको अर्थ नभएको भन्दै बचाउ गरिएको छ ।
माओवादीमा नेताका श्रीमती, छोराछोरी, भाही बहिनी उम्मेद्वार हुनुवा लाभको पद प्राप्त गर्नु कुनै आनौठो होइन । जनयुद्धकालमा सिंगै परिवार युद्धमा होमिएको अवस्थालाई मूल्यांकनको आधार बनाउँदा लाभको पद प्राप्त गर्नुलाई अनौठो नमानिनु स्वभाविक हो । जनयुद्धमा होमिएकी कार्यकर्ता भएका आधारमा मूल्यांकन गर्दा विनाको उम्मेद्वारी स्वभाविक हुने कतिपय कार्यकर्ताको बुझाई छ ।
शहिद, पेपत्ता परिवार र विना भन्दा पुराना कार्यकर्ता हुँदाहुँदै विनाको नामको बिरोध हुनु स्वाभाविक हो । तर, पार्टी पद्धती भन्दा बाहिर गएर नेता कार्यकर्ताले गरेको टिप्पणी हेर्दा माओवादी पार्टी नभ्रएर अरुनै कुनै जमात मात्र जस्तो देखिएको छ । पद्धती सिकाउनेहरु नै सामाजिक संजालमा आलोचना र बचाउमा लाग्नु क्रान्तिकारी पार्टीका लागि लाजमर्दो भएको एक नेताको टिप्पणी छ ।