काठमाडौं, २५ पुष । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र मतभेद देखिए पनि महाधिवेशन पक्षधरहरूले उद्घाटन सभापति शेरबहादुर देउवाले नै गर्नेमा विश्वास व्यक्त गरेका छन्।
आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विशेष महाधिवेशन पक्षधरका तर्फबाट बोल्दै नेता जगदीश्वरनरसिंह केसीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापतिलाई औपचारिक पत्र बुझाइसकेको जानकारी दिए। उनले सभापति देउवा स्वयं उपस्थित भएर उद्घाटन समारोह सम्पन्न हुने विश्वास आफूहरूले गरेको बताए।
महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेसभित्र मत विभाजन देखिएको छ। तर, विशेष महाधिवेशनमा हस्ताक्षर गरेका नेताहरूले सभापति देउवाको सहभागितासँगै उद्घाटन हुनेमा आशावादी रहेको केसीको भनाइ छ।
विशेष महाधिवेशनको उद्घाटन सत्र पुस २७ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने तय गरिएको छ।





