Logo

एमाले स्थायी कमिटीको पहिलो बैठक आज



काठमाडौं, २२ असोज । नेकपा (एमाले)ले स्थायी कमिटीको पहिलो बैठक आज (बिहीबार) बस्दैछ ।

बैठक दिउँसो १ बजे पार्टी मुख्यालय च्यासलमा बस्नेछ । स्थायी कमिटी गठनपछि बस्न लागेको यो पहिलो बैठक हो ।

गत असोज ५ देखि ८ गतेसम्म बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेताहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापालाई स्थायी कमिटी सदस्य चयन गरेको थियो ।

आजको बैठकमा पूर्वराष्ट्रपति समेत रहेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी सहभागी हुनेछिन् ।

पार्टीको वरिष्ठ नेता मनोनित भएपछि भण्डारी पहिलोपटक स्थायी कमिटी बैठकमा सहभागी हुन लागेकी हुन् ।

गत असोज ८ गते बसेको एमाले सचिवालय बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीको वरिष्ठ नेतामा मनोनित गर्ने निर्णय गरेको थियो । त्यसपछि केन्द्रीय कमिटी बैठकले उक्त निर्णय अनुमोदन गरेको थियो ।

भण्डारी पार्टीमा दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेता मनोनित भएकी हुन् ।

आज बस्ने स्थायी कमिटी बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, पार्टीको आगामी कार्यदिशा तथा सांगठनिक गतिविधिलाई अघि बढाउने विषयमा छलफल हुनेछ । साथै, बैठकमा आगामी स्थानीय तह निर्वाचनको तयारीबारे पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्