Logo

महाअष्टमी पर्व आज, दुर्गा भवानीको विशेष पूजा आराधना गरिँदै



काठमाडौं, १ कार्तिक । बडादसैँको आठौँ दिन आज महाअष्टमी पर्व दुर्गा भवानीको विशेष पूजा आराधना गरी धार्मिक श्रद्धा र भक्तिभावका साथ मनाइँदै छ। आश्विन शुक्ल अष्टमीका दिन मनाइने यस पर्वमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गर्ने परम्परा रहेको छ।

महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्ति प्रदान गर्ने विश्वासका साथ देशभरका दसैँघर, कोत तथा विभिन्न शक्तिपीठमा विधिपूर्वक पूजाआजा गरिन्छ। यस अवसरमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत तथा देवी स्तोत्र पाठ गर्ने चलन छ।

धार्मिक मान्यताअनुसार यस दिन पशुबलिसहित पूजा गर्ने परम्परा पनि रहिआएको छ। धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार शास्त्रमा सात्त्विक, राजस र तामस गरी तीन प्रकारका पूजाको वर्णन गरिएको छ। जल, चन्दन, अक्षतालगायत सामग्रीबाट गरिने पूजा सात्त्विक, पशुबलिसहितको पूजा राजस तथा मदिरासमेत चढाएर गरिने पूजा तामस मानिने उनले बताएका छन्। यद्यपि ब्राह्मणका लागि पशुबलि वर्जित रहेको धार्मिक विधान रहेको उनको भनाइ छ।

दुर्गा सप्तशतीको आठौँ अध्यायमा समेत पशुबलिसम्बन्धी प्रसङ्ग उल्लेख भएकाले यसलाई शास्त्रीय परम्पराकै एक अङ्गका रूपमा व्याख्या गरिने धर्मशास्त्रविद्हरू बताउँछन्। धार्मिक मान्यताअनुसार आसुरी प्रवृत्तिको नाश, देवीको शक्ति आराधना तथा पशुको मुक्तिसँग पनि बलिको परम्परा जोडिएको छ।

महाअष्टमीको राति कालरात्रिका रूपमा विशेष पूजा आराधना र सङ्कल्प गर्ने चलन छ। यस अवसरमा विभिन्न शक्तिपीठमा विशेष धार्मिक अनुष्ठान गरिन्छ।

काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, सङ्कटा, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी र बगलामुखीलगायत शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लाग्ने गर्छ।

त्यसैगरी उपत्यकाबाहिर गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी तथा पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक भगवती र ताप्लेजुङको पाथीभरालगायत शक्तिपीठमा पनि विशेष पूजाआजा गरिन्छ।

महाअष्टमीका दिन कलपुर्जा, हातहतियार तथा यातायातका साधन सफा गरी देवी स्थापना गरिएको स्थानमा राखेर पूजा गर्ने परम्परा छ। यस्ता सामग्रीलाई देवीका शस्त्रअस्त्रका रूपमा मानी चतुरङ्गिणी सेनासहित आह्वान गरेर पूजा गर्ने धार्मिक विश्वास रहेको छ।

पशुबलि नचढाउने भक्तजनले आफ्नो कुल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला तथा नरिवल चढाएर प्रतीकात्मक बलि दिने गर्छन्।

महाअष्टमीको राति काठमाडौंस्थित हनुमानढोका दरबारको दसैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने परम्परा रहेको छ। यसरी महाअष्टमीले धार्मिक आस्था, परम्परा र शक्तिको उपासनालाई विशेष महत्त्व दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्